अर्घाखाँची — जनताको सेवा, विकास र संगठनप्रतिको समर्पणका कारण जिल्लामा जनस्तरमै भिजेका र विकासप्रेमी नेताका रूपमा परिचित सांसद रामजीप्रसाद घिमिरे पछिल्ला दिनमा स्वकीय सचिव नियुक्तिसम्बन्धी विवादले चर्चामा आएका छन्।

सुशासन, पारदर्शिता र जनहितका प्रतिज्ञा राख्दै आएका जनताको अगाडि सुशासन, पारदर्शिता र जनहितका प्रतिज्ञा गर्ने नेतृत्वको व्यवहार भने यथार्थमा अर्कै देखा पर्न थालेको छ। अर्घाखाँचीका सांसद रामजीप्रसाद घिमिरेद्वारा दुई कार्यकालमा दुईपटक स्वकीय सचिव पद आफ्नै परिवारका सदस्यलाई नियुक्त गरिएको घटनापछि स्थानीय राजनीतिमा गम्भीर आलोचना उठेको छ।
२०७४ को निर्वाचनपछि छोरीलाई र २०७९ को निर्वाचनपछि छोरालाई स्वकीय सचिव बनाएपछि जनताले “संवेदनशील पद परिवारमै सीमित किन?” भन्ने प्रश्न उठाएका छन्। करिब ४५–५० हजार तलब–भत्ता पाउने, नायब सुब्बा सरह जिम्मेवारी बोकेको पदमा खुलेआम प्रतिस्पर्धा वा संगठनमा लामो समयदेखि खटिएका कार्यकर्तालाई अवसर नदिई सिधै परिवारका सदस्यलाई परिकल्पना गरिएको निर्णय ‘योग्यता’ भन्दा पनि ‘मानसिकता’ को प्रश्न बनेको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
सांसद घिमिरेका सन्तान योग्य हुन सक्ने सम्भावना नकार्न नसकिए पनि पदहरूको सार्वजनिक प्रकृति र जनताको करबाट चल्ने व्यवस्थामा परिवारलाई निरन्तर प्राथमिकता दिनु लोकतान्त्रिक मूल्यका दृष्टिले स्वीकार्य नभएको जनमत बढ्दै गएको छ। यसैबीच घिमिरेले एमाले महाधिवेशन प्रतिनिधिमा दावी गरिरहेकै समयमा परिवारवादको आरोप चर्किंदै गएकोले संगठनभित्र पनि असन्तुष्टि स्पष्ट देखिन थालेको छ।
तर घिमिरेले विकास निर्माणका कामहरू समेत समेटिँदै आएका छन्। विशेषगरी दक्षिण खाँची क्षेत्रका सडक, खानेपानी, पर्यटन , शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा मात्र नभई समग्रमा अर्घाखाँचीको लागि उनले परियोजना पारित गराएको, संसदमा जनताको जायज मागहरू उठाउँदै आएका तथा विकासका एजेण्डामा सक्रिय भूमिकासहित परिणाम देखाउने प्रयास गरेका नेता हुन । जुन स्थानीयहरूले समेत बताएका छन्। ‘काम गर्ने’ नेताका रूपमा उनको छवि रहे पनि परिवारका सदस्यलाई स्वकीय सचिव जस्तो संवेदनशील पदमा लगातार नियुक्त गर्नुले उनको राजनीतिक यात्रामा नकारात्मक असर परेको जनताले स्पष्ट रूपमा टिप्पणी गर्दै आएका छन्।
अर्घाखाँचीका जनताले अहिले उठाइरहेको मुख्य प्रश्न यही हो— “नेतृत्व निर्णय हरेकपटक परिवारकै वरिपरि किन घुम्यो?” पार्टीप्रति आस्था राख्ने कार्यकर्ताहरूले समेत यसरी संवेदनशील पदमा बारम्बार परिवारका सदस्य सहभागी गराउनु संगठनको मूल्य–मान्यता र विश्वासमा आघात पुगेको बताएका छन्। धेरैको धारणा अनुसार, एमाले अर्घाखाँचीले यस विषयमा स्पष्ट स्पष्टीकरण दिनुपर्छ र भविष्यमा माननीय तथा जिम्मेवारीमा रहने पदाधिकारीले के–कस्ता आचारसंहिता पालना गर्ने भन्ने विषयमा ठोस नियम बनाउन जरूरी छ, नत्र संगठनभित्रै बिचलन बढ्न सक्ने संकेत देखिन्छ।
यद्यपि घिमिरे विकास, जनताको मुद्दा र संसदमा आवाज उठाउने क्षमताका कारण जिल्लामा प्रभावशाली नेताका रूपमा रहेको स्वीकार गरिए पनि स्वकीय सचिव नियुक्तिमा देखिएको परिवारप्रतिको प्राथमिकताले जनभावना कमजोर केही कम्जोर बनाएपनि उनको बिकास र जनस्तरमा राम्रो छबि बनाएको कार्यकर्ताहरू बताउँछन् । नेता जति सक्षम भए पनि जनता र संगठनभन्दा अगाडि परिवारलाई राख्ने प्रवृत्ति नेतृत्वको वास्तविक परीक्षण बनेको छ। नेता र नेतृत्वदायी भुमिकामा बसेका सबैले परिवार भन्दा माथी देश समाज र जन्ताको भावना लाई लिएर अघि नबढेसम्म न पार्टी बलियो बनाउन सकिन्छ न देश विकास गर्न सकिन्छ ।
नेपाल खोज खबरको एउटा प्रश्न माननीय ज्यु लाई ? “तपाइँ विकासमा सक्रिय र जनता–केन्द्रित नेताले संवेदनशील निर्णयहरूमा संगठन र जनताको विश्वासलाई प्राथमिकता दिन सक्नुहुन्थ्यो या सक्नुहुने थिएन ” ।

