अर्घाखाँची । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले अब पार्टीका कार्यकर्ताको वास्तविक परीक्षा बैठक र कोठामा होइन, सडकमा हुने बताएका छन्। लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले कार्यकर्ताले जनताको पक्षमा उभिएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार प्रतिगमनविरुद्धको आन्दोलन र प्रतिनिधिसभा पुनःस्थापनाका लागि हुने संघर्ष कार्यकर्ताको परीक्षणको निर्णायक घडी हो। ‘अब परीक्षा वक्तृत्वमा होइन, व्यवहारमा हुन्छ। जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिन सक्नुपर्छ,’ पौडेलले भने।
उपाध्यक्ष पौडेलले आसन्न ११औं राष्ट्रिय महाधिवेशनलाई एमाले मात्र होइन, सिङ्गो राष्ट्रको भविष्य निर्धारण गर्ने अवसरका रूपमा व्याख्या गरे। उनले महाधिवेशनलाई समृद्धि, स्थायित्व र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक क्षणका रूपमा लिँदै देशलाई विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा एमालेले लिएको बताए।
दशौं महाधिवेशनले तोकेको मापदण्ड र पद्धतिलाई कायम राख्दै प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र शुद्धीकरण, संगठन सुदृढीकरण र अनुशासनमा दृढता आवश्यक रहेको उल्लेख गरे। ‘पार्टीभित्र एकता, विचार र आचरणको सन्तुलन कायम गर्न सके हामीले जनताको भरोसा पुनःस्थापित गर्न सक्छौं,’ उनले जोड दिए।
हाल एमाले विभिन्न राजनीतिक पक्षबाट प्रहारको निशानामा परेको उल्लेख गर्दै पौडेलले ती सबै चुनौतीहरूलाई अवसरका रूपमा लिई पार्टीलाई अझ सबल, जनमुखी र जिम्मेवार बनाउनु पर्ने बताए।
बैठकमा उनले आगामी राजनीतिक कार्यक्रम, संगठन सुदृढीकरण र ११औं महाधिवेशन तयारीका विषयमा समेत विस्तृत निर्देशन दिएका थिए।

