
अर्घाखाँची – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका-४ हाडेकोटबाट गुल्मीको खज्याङ जाँदै गरेको लु १ च ९२७१ नम्बरको डबल क्याब गाडी शनिबार साँझ करिब ६ बजे दुर्घटना भएको छ।
स्थानीयका अनुसार गाडी छत्रदेव-३ मथुराको चापटारी भन्ने स्थानमा पुग्दा अचानक ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परि छत्रदेव-४ का ३९ वर्षीय संजय पाण्डे र छत्रदेव-३ का २३ वर्षीय गाडी चालक किसन खत्री घाइते भएका छन्।
हाल हाडेकोट खानेपानी आयोजनामा सुपरभाइजरका रूपमा कार्यरत पाण्डे र चालक खत्रीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि स्थानीय बासिन्दा तथा यात्रुहरूले तत्कालै उद्धार गरी घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा पुर्याएका थिए। गाडी अनियन्त्रित भएर सडकबाट चिप्लिएर दुर्घटनामा परेको भए पनि ठूलो क्षति भने हुन पाएन।
गाडी चालक खत्रीले गाडीको ब्रेक अचानक फेल भएर नियन्त्रण गुमाएको बताए। उनले दुर्घटना हुन नदिन प्रयास गरे पनि गाडी रोक्न नसकेको बताएका छ्न ।
