काठमाडौं -काठमाडौं महानगरका मेयर बालेन शाहको हिजो राति गरिएको सामाजिक सञ्जाल पोस्टले देशभर चर्चा पाएको छ।

कतिपयले उक्त पोस्टमा प्रयोग गरिएको भाषालाई असभ्य भन्दै आलोचना गरिरहेका बेला, पत्रकार अविजित पन्थीले भने बालेनको भनाइलाई यथार्थपरक र स्पष्ट अभिव्यक्ति भएको टिप्पणी गरेका छन्।
पन्थीका अनुसार बालेन शाहको भनाइ “नेपालको स्वाभिमान र स्वतन्त्र सोचका लागि गरिएको प्रतिवाद” हो। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उनको पोस्टमा प्रयोग गरिएको शब्दावली केहीलाई असभ्य लाग्न सक्छ, तर त्यो शब्द होइन, भावनाको विस्फोट हो।”
पन्थीले नेपालमा सत्य बोल्ने र स्वतन्त्र सोच राख्ने व्यक्तिहरू सधैं आलोचनाको सिकार बन्ने प्रवृत्तिको पनि उल्लेख गरेका छन्। उनका शब्दमा, “जब देशको राजनीति, नीति र निर्णय विदेशी स्वार्थमा निर्भर हुन थाल्छ, तब सत्य बोल्नेहरूलाई उच्छृङ्खल भनेर जनताबाट टाढा पार्ने खेल सुरु हुन्छ।”
उनले बालेन शाहले अमेरिका, भारत र चीनजस्ता सबै विदेशी शक्तिहरूलाई एउटै दृष्टिकोणबाट हेरेको र त्यसको मर्म नेपालको स्वाधीनता र स्वतन्त्रतामा केन्द्रित रहेको बताएका छन्। “विदेशीहरूलाई दोष दिनु होइन, तर उनीहरूको राजनीतिक खेलमा हाम्रो देशलाई मोहरा बनाउने प्रयासको विरोध गर्नु नै बालेनको मन्तव्य हो,” पन्थीले लेखेका छन्।
पन्थीका अनुसार आजको पुस्ताले विदेशी हस्तक्षेप घटाउने र देशलाई आत्मनिर्भर मार्गमा अघि बढाउने माग गर्दै आएको छ, र बालेनले त्यसै मागलाई प्रत्यक्ष भाषामा बोलेका हुन्। “उनको भाषा कठोर होला, तर मर्म गहिरो छ स्वतन्त्र सोच र राष्ट्रप्रेम कसैको इजाजत माग्दैन,” पन्थीको पोस्टमा भनिएको छ।
बालेन शाहको पोस्टलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूले आआफ्ना प्रतिक्रिया दिइरहेका बेला, पन्थीले आफ्नो फेसबुक मार्फत अभिव्यक्ति व्यक्त गरेका छन्। उनले ह्यासट्याग #IStandWithBalen, #स्वाभिमानपहिले, #NepalForNepalis, र #NoForeignInterference प्रयोग गर्दै बालेनप्रतिको समर्थन प्रकट गरेका छन्।
