
- पाल्पाको भालेबासमा फोर्स गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
- दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।
- घाइतेहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
पाल्पा।पाल्पाको तानसेन नगरपालिका वडा नं. ८ भालेबासमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आइतबार दिउँसो करिब ३:३० बजे सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी पूर्वखोला गाउँपालिका वडा नं. ५ निवासी अन्दाजी ६२ वर्षीयाअनसरा खाम्चा को मृत्यु भएको छ।

दुर्घटनालगत्तै गम्भीर घाइते अवस्थामा लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकी खाम्चाको उपचारका क्रममा दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पन्जियार थारूले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते हुनेहरू:
१. नरबहादुर राना (२९ वर्ष, गाडी चालक) – पूर्वखोला गाउँपालिका–१
२. कृष्णबहादुर राज मगर (५० वर्ष) – पूर्वखोला गाउँपालिका–१
३. मनकुमारी सारू (२८ वर्ष) – पूर्वखोला–४ (हाल तानसेन–४, भगवती टोल)
४. साहिरस सारू (७ वर्षीया बालिका) – मनकुमारीकी छोरी
५. सायरा खाम्चा (५ वर्षीया बालिका) – मृतक अन्सारी खाम्चाकी नातिनी
घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताउनुभयो।
