२३ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक ‘जेन–जी विद्रोह’को एक महिना पूरा भएको अवसरमा सबै पक्षले आत्मसमीक्षा गर्दै देशलाई थप द्वन्द्वतर्फ होइन, अग्रगामी रूपान्तरण र दिगो शान्तिको बाटोमा अघि बढाउन अपिल गरेका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको सन्देशमा भनेका छन्, “पुराना दल र नेतृत्व, विशेषतः गत दस वर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका शीर्ष नेताहरूको चरम सत्तालिप्सा, कुशासन र भ्रष्टाचारकै कारण युवाहरू र आम जनतामा आक्रोश उत्पन्न भएर जेन–जी विद्रोहको रूपमा विस्फोट भयो भन्ने यथार्थ आत्मसात गर्नुपर्छ।”
उनले राज्यका अंगहरूको दलीयकरण र क्षयीकरणले जनतामा असन्तुष्टि फैलिएको र त्यसको परिणामस्वरूप जनविद्रोह बिस्फोट हुँदा कस्तो भयावह अवस्था सिर्जना हुन सक्छ भन्ने कुरा सबैले गम्भीरतापूर्वक बुझ्नुपर्ने उल्लेख गरेका छन्।
भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरू नै सुशासन र समृद्धिका मुख्य खम्बा भएकाले पुराना दलहरूको रूपान्तरण र पुस्तान्तरण आवश्यक रहेको बताए। साथै नयाँ तथा वैकल्पिक शक्तिहरूबीच बृहद् ध्रुवीकरण/मोर्चाबन्दीमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रुत मार्गमा डोर्याउनुपर्नेमा जोड दिएका छन्।
उनले जेन–जी आन्दोलनका जायज मागहरू
हिंस्रक दमनका जिम्मेवार र ठूला भ्रष्टाचारीमाथि तुरुन्त कारवाही,
उम्मेदवार बन्न पाउने उमेर हद २५ बाट घटाएर २१ वर्ष पुर्याउने,
विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्ने
जस्ता विषय तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन्।
भट्टराईले भनेका छन्, “जसले अझै पनि हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने दुस्साहस गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन।”
