काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीको लिखित आदेश आए मात्रै नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी गर्ने जनाएको छ।

सुशीला कार्कीको लिखित आदेश आए मात्रै तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिन सकिने बटमलाइन सुनाएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेन-जी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको कारण त्यसको सबै जिम्मा लिनेगरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताउनु भएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ।
कार्की सरकारले सोमवार राती बालुवाटारमा प्रधानमन्त्रीसहित उच्च तहको बैठक राखेर तात्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्ने आदेश दिएपछि प्रहरी नेतृत्वले कानून बाहिर गएर काम नगर्ने प्रष्ट बटमलाइन सुनाएको स्रोतको भनाई छ । बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, आईजीपी खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजीपी ) द्वय दानबहादुर कार्की र डाक्टर मनोज केसी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरू सहभागी रहनुभएको थियो ।
‘कानून भन्दा बाहिर गएर अहिलेको अवस्थाबाट सरकार अघि बढ्ने हो भने कुनै पनि सरकारी निकायले काम गर्न सक्दैन। भोलि मुठभेड भएमा र प्रहरीबाट गोली चलेमा त्यसको जिम्मेवारी लिने निकाय कुन हो भन्ने स्पष्ट आदेश र जानकारी चाहिन्छ,’ बैठकमा आईजीपी खापुङ, एआइजीपीद्वय कार्की र केसीको भनाई थियो ।
