काठमाडौँ – अन्तरिम सरकारकि प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा बसेकाहरूको अयोग्यताका कारण जेनजी पुस्ताका युवाहरूको ज्यान गएको टिप्पणी गर्नुभएको छ।

विजया दशमीको दिन बिहीबार जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै प्रधानमन्त्री कार्कीले “नहुनुपर्ने दुःखद घटना भएको” उल्लेख गर्दै राज्यले मृतकलाई फर्काउन नसक्ने तर परिवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “सरकारमा हुनेहरूको बुद्धि पुगेको भए यस्तो दुर्घटना हुने थिएन। बच्चाहरूले पढ्न, काम गर्न सकून् भन्ने सोच राखेका छौँ। उहाँहरूले मागेका पनि खासै केही छैन। नोक्सानीको क्षतिपूर्ति त कहिल्यै पूरा हुन सक्दैन तर राज्यले सकेसम्म सहयोग गर्ने हो।”
शहीद परिवारसँगै भेटमा सहभागी हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद परिवारलाई न्याय दिलाउन सरकार गम्भीर रहेको जनाउनुभयो। उहाँले, “शहीदहरूको रगतमाथि अन्याय हुन दिइँदैन, यो रगतले न्याय पाउनुपर्छ,” भन्नुभयो।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए।
यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई टीका नलगाइदिएका थिए।
