काठमाडौ = गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार राति प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको छ। उक्त भेटमा संघले गैरआवासीय नेपालीका संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारहरूको कार्यान्वयनका लागि सरकारले ल्याउन लागेको विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह समेत गरेको छ।

अध्यक्ष डा. केसीले संविधानतः गैरआवासीय नेपालीलाई प्रदान गरिएका अधिकारहरू कार्यान्वयन गर्न संसदमा दर्जनभन्दा बढी विधेयक पेस गर्न सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै ती विधेयकलाई समयमै पारित गरी गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए उनले भने, “संविधानले दिएको अधिकारको कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न सरकार र संसदले प्राथमिकता दिनुपर्छ।”
सभामुख घिमिरेले गैरआवासीय नेपाली संघद्वारा उठाइएका विषयहरूको गहन अध्ययन गर्ने र सहजीकरण तथा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छ्न ।
भेटका क्रममा अध्यक्ष केसीले संघको आगामी अक्टोबर ११ देखि १४ सम्म आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका तयारीबारे पनि जानकारी गराएका थिए ।
प्रतिनिधिमण्डलमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई र सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत उक्त भेटमा सहभागी थिए।
उक्त पहलले गैरआवासीय नेपालीहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयनलाई थप सुदृढ गर्ने मद्दत पुराउने अनुमानित आँकलन गर्न सकिन्छ ।


