अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा भएको फोर्स गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार आज बिहान करिब साढे ३ बजेतिर सन्धिखर्कबाट गुल्मी पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको हो। गाडी जिल्ला गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहका ४२ वर्षीय चेतन कुँवरले चलाइरहेका थिए।
नेपाल खोज खबर लाई प्राप्त जानकारी अनुसार दुर्घटनामा परि गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदहकी १० वर्षीया अरुणा थापा र मदाने–७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
त्यसैगरी, मदाने–६ की ३२ वर्षीया तारा सेन केसी, ३३ वर्षीया गंगा थापा, १३ वर्षीया संजिता कुँवर र २१ वर्षीया उषा घर्ती मगरको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल रिफर गरिएको छ। चालक चेतन कुँवरसहित १३ जनाको अवस्था मध्यम र बाँकी सातजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचार गरिएको थियो। गम्भीर अवस्थामा रहेका बिरामीलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरीले जनाएको छ।
घटनास्थलमै रहेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवशबहादुर जिसीको कमाण्डमा २७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल अर्घा प्रहरी चौकीबाट करिब ४ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट करिब ९ किलोमिटर उत्तर रहेको प्रहरीले जनाएको छ।
