बुटवल, रुपन्देही — पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको राष्ट्रिय जनमोर्चा (राजमो) बुटवल कार्यालयको बिहीबार अवलोकन गरेका छन्।

पौडेलसँगै एमालेका नेता बासुदेव घिमिरेलगायतको टोलीले राजमो कार्यालय पुगेको थियो। टोलीले आगलागीबाट भएको क्षति, भवनको अवस्था र त्यसको पुनर्निर्माणका सम्भावनाबारे स्थलगत जानकारी लिएको बताइएको छ।
अवलोकनका क्रममा पूर्व उपप्रधानमन्त्री पौडेलले राजनीतिक असहिष्णुता र हिंसात्मक गतिविधिहरूले लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने भन्दै यस्ता घटनाको तीव्र निन्दा गरेका थिए। उनले राजनीतिक मतभेदलाई संवाद र सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
