कपिलवस्तु — कपिलवस्तुको तौलिहवा चार नम्बर सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१०, पचेहराहाट बजार नजिकै बिहीबार साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा मुख्य सडक भाग ध्वस्त भएको छ।

साँझ करिब ६ बजेतिर बिचसडकमै ठूलो आवाजसहित विस्फोट भएको थियो। स्थानीयवासीका अनुसार आवाज बमजस्तै तेजसंग सुनिएको थियो। विस्फोटका कारण सडकको बीचभागमा करिब १० फिट गहिरो र ४ फिट चौडा खाल्टो बनेको छ, जसले गर्दा आवागमनमा समेत समस्या भएको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहले सडकभित्र दबिएको विस्फोटजन्य पदार्थ आफैं विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान जनाएको छ। विस्फोटपछि तत्कालै प्रहरी टोली घटनास्थल पुगेर सडक अवरुद्ध हुन नदिई सुरक्षात्मक रुपमा व्यवस्थापन गरिएको छ।
अस्थायी प्रहरी पोस्ट जहदीका अनुसार विस्फोटको ठूलो आवाज सुनिएपछि स्थानीयवासी आत्तिएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार विस्फोटले सडकखण्डमा भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन।
यसैबीच घटनास्थलमा सुरक्षा निकायले घेराबन्दी गर्दै अनुसन्धान अघि बढाएको छ। घटनाको विस्तृत कारण र विस्फोटक पदार्थको प्रकार पत्ता लगाउन नेपाल प्रहरीको बम निष्क्रिय गर्ने टोली समेत घटनास्थलमा पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ।
