रतन रावल मुगु – मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका–८ का वडा अध्यक्ष कर्ण रावल स्थानीय सरकारको प्रतिनिधिका रूपमा जनताको प्रिय पात्र बन्दै गएका छन्। निर्वाचित भएदेखि गाउँमा विकासमुखी थुप्रै काम सम्पन्न गर्दै आएका रावललाई गाउँलेहरूले सम्झना लायक जनप्रतिनिधि भन्दै सम्मान गर्दै आएका छन्।

सानै उमेरदेखि दुःख–कष्ट र सङ्घर्ष पार गर्दै अगाडि बढेका रावल पहिलो पटक २०७५ सालमा वडा अध्यक्ष निर्वाचित भए। त्यतिबेला गरेका विकासमुखी कार्यका कारण फेरि दोस्रो पटक पनि बहुमतका साथ विजयी बन्न सफल भए।

उनको नेतृत्वमा वडा नम्बर ८ मा घरघरमा खानेपानी, गाउँगाउँमा आरसीसी संरचना, बिजुली बत्ती, पुलपुलेसा जस्ता आधारभूत पूर्वाधार निर्माण भएका छन्। महिलाहरूलाई आत्मनिर्भर बनाउन कृषि कार्यक्रम, पशुपालक कृषकलाई आत्मविश्वासका साथ कृषिमा लगाउने योजना, रैथाने बालीको उत्थान तथा सिँचाइको विस्तारजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
यसबाहेक वडा भित्र रहेका मठ–मन्दिरहरूको संरक्षण तथा पुनर्निर्माण, स्वास्थ्य सेवा सुदृढीकरणका लागि स्वास्थ्य भवन निर्माण र सरकारको अनुदानमा आएका औषधिको सही सदुपयोगसहित औषधि वितरण पनि निरन्तर भइरहेको छ। २०७९ साल असोज २४ र २५ गते आएको अविरल वर्षाले वडा नं. ८ मा ठूलो क्षति पुर्याउँदा तत्काल राहत, उद्धार र विस्थापितलाई नजिकैको बाँमेचौरमा सुरक्षित स्थानान्तरणसमेत रावलकै पहलमा भएको थियो।
नेपाली कांग्रेस मुगुका उपसभापति तथा कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेका रावल जिल्ला स्तरीय वरिष्ठ नेताका रूपमा समेत परिचित छन्। उनले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले राराताल नजिकैका क्षेत्रमा स्थानीय युवामार्फत सत्कार र सद्भावनाका कार्यक्रम अघि बढाएका छन्।
रावल भन्छन्, “म वडा अध्यक्ष मात्र होइन, जिल्लाभरिका जनताको सेवामा खटिएको छु। राजनीतिलाई भविष्यका लागि लामो मार्ग मान्छु, त्यसैले जीवन रहुन्जेल जनताको काममै समर्पित रहनेछु।”
उहाँको नेतृत्वमा सम्पन्न भएका काम र जनताप्रतिको निरन्तर सेवा भावनाले कर्ण रावललाई आज जनप्रिय वडा अध्यक्षका रूपमा चिनाउन सफल बनाएको छ।

