काठमाडौं । व्यवसायी तथा राजावादी एवं जनकमान्डर अभियानका संस्थापक दुर्गा प्रसाईंले तीनकुनेमा चैत १५ गते भएको घटनाभन्दा अघिल्लो दिन नै आफूलाई हत्या गर्ने योजना बनेको सूचना प्राप्त गरेको दाबी गरेका छन्। लामो समय थुनामा बसेर बाहिरिएका उनी सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन्। उनले भने, “अघिल्लै दिनमा मलाई सूचना आएको थियो— त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्। त्यसपछि मैले प्रहरीसँग सुरक्षा मागेको थिएँ।”

प्रसाईं नेतृत्वमा सञ्चालन गरिएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले चैत १५ मा आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। त्यतिबेला सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। त्यसलगत्तै प्रहरीले प्रसाईंसहित ६१ जनामाथि कर्तव्य ज्यान, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो।
जेठ ३० गते काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने ३२ जनालाई धरौटीमा र बाँकीलाई साधारण तारेखमा छोड्ने आदेश गरेको थियो। यतिबेला प्रसाईंमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा अन्य आर्थिक अनियमितताबारे पनि अनुसन्धान भइरहेको छ। तीनकुने घटनापछि फरार रहेका उनलाई चैत २८ गते भारतको असाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।
पत्रकार सम्मेलनमा प्रसाईंले आफूलाई योजनाबद्ध रूपमा फसाइएको आरोप लगाउँदै हिंसात्मक गतिविधिमा संलग्न नभएको दाबी गरे। उनले भने, “यो सब योजनाबद्ध षड्यन्त्र हो। प्रहरीमाथि पहिले नै ढुंगामुढा भइरहेको थियो, त्यसपछि अवस्था नियन्त्रण बाहिर गएको हो। मलाई जबर्जस्ती दोषी ठहराउने प्रयास भइरहेको छ।”
