रतन रावल मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुगा गाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीय दीर्घराज विकका अनुसार अपराह्न करिब ४ बजे अचानक आगलागी हुँदा गाउँकै देवीलाल विकको चार कोठे घर जलेर खरानी भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन।
पीडित विकले फोन सम्पर्कमा बताएअनुसार, आगलागीको समयमा घरमा कोही पनि थिएन। “के कसरी आगलागी भयो थाहा भएन, घरभित्रका अन्नबाली—जौ, कोदो, चामलदेखि बुहारीको लगनको तिलहरी र लत्ता–कपडा सबै खरानी भए,” उनले भने।
मानवीय र पशु क्षति नभए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको विकले बताए। “सरकारले बनाइदिएको घर नै खरानी भयो, अब कहाँ बस्ने?” भन्दै उनले दुःखेसो पोखे। अहिले विक परिवार त्रिपालमा बस्न बाध्य भएको छ।
पुलिस टोली भने घटनास्थलमा पुगेको छैन। भोलि बिहान मुगुबाट प्रहरी टोली पुगेर क्षतिको विवरण संकलन गर्ने तयारी गरिएको स्थानीयले जानकारी दिएका छन्।

