काठमाडौं – काठमाडौं महानगरपालिकाले भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई सम्मान गरेको छ। मंगलबार महानगरका मेयर बालेन शाहले ढाँटलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्दै बधाई दिएका हुन्।

साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा ढाँटले त्यहाँका नम्बर वान फाइटर चेग्रोन कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाएका थिए। उत्कृष्ट प्रदर्शन गर्दै उनले प्रतियोगिता जितेपछि नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा गौरवमय उपलब्धि हासिल गरेका छन्।
ढाँटले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए। उनी एसिया–प्रशान्त क्षेत्रमा २२८औं स्थानमा रहेका एमएमए फाइटर हुन् भने एसिया–प्रशान्त उपक्षेत्रको वरीयतामा पनि उनी समावेश छन्।
‘बझांगी बाघ’ उपनामले चिनिने रवीन्द्र ढाँटले सम्मान ग्रहण गर्दै यो जित आफू मात्र नभई सम्पूर्ण नेपाली खेलकुद समुदायको जित भएको बताए। उनले अन्तर्राष्ट्रिय मञ्चमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
