पोखरा – पोखरा महानगरपालिकाको विभिन्न क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अवैध सुन र चाँदीसहित ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं. २, ३, ४ र ८ का विभिन्न टोलमा अवैध तस्करी तथा चोरीको धन्दामा संलग्न भएको सूचनाका आधारमा आइतबार बिहान करिब ४ बजेदेखि विशेष टोली परिचालन गरी छापा मारिएको थियो।

उक्त कारबाहीमा भारतका विभिन्न राज्यका ११ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा भारत बिहार, सासाराम जिल्लाका रामचन्द्र जगनाथ; भारत कलकत्ता, बेंगुलुरु जिल्लाका ममिन कलाम; भारत पश्चिम बंगाल, बाबुलु घर भएका असगर अली; भारत पश्चिम बंगाल, कलकत्ता घर भएका नुरुल इस्लाम; भारत पश्चिम बंगाल, मुर्शिदाबाद घर भएका रफिकुल इस्लाम; भारत कलकत्ता, हावडा घर भएका सिराजुल हक; भारत कलकत्ता, बेंगुलुरु घर भएका आजम हुसैन; भारत बिहार, समस्तीपुर घर भएका मोहम्मद शाह आलम; भारत बिहार, भागलपुर घर भएका जुबैर अन्सारी र भारत बिहार, मधेपुरा घर भएका सफिक पवार रहेका छन्।
पक्राउ परेकासँग प्रहरीले विभिन्न परिमाणका सुन र चाँदी बरामद गरेको छ। रामचन्द्र जगनाथको साथबाट २० तोला ५ लाल सुन, २३ लाल, १६६ लाल २३ तोला चाँदी बरामद भएको छ जसको मूल्य करिब १६ लाख ८० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। ममिन कलामको साथबाट १७ तोला १ लाल सुन र ९ तोला ४ लाल चाँदी बरामद गरिएको छ। असगर अलीसँग ३ तोला सुन र २ लाल चाँदी, नुरुल इस्लामसँग १२ तोला २३ लाल सुन र १५ तोला ९२ लाल चाँदी, रफिकुल इस्लामसँग ९ तोला ५ लाल सुन र ३० तोला चाँदी, सिराजुल हकसँग २० तोला सुन र ८२ लाल चाँदी, आजम हुसैनसँग ५६ तोला ६ लाल सुन र २१ तोला ५ लाल चाँदी, मोहम्मद शाह आलमसँग ११ तोला ५ लाल सुन र ८ तोला ५ लाल चाँदी, जुबैर अन्सारीसँग ६ तोला सुन र ८ लाल चाँदी तथा सफिक पवारसँग २ तोला सुन र १३ तोला १६ लाल चाँदी बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू अवैध सुन–चाँदीको कारोबारमा संलग्न रहेको पुष्टि भएको र बरामद गरिएका सबै सुन–चाँदी तथा रत्न परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीको भनाइमा यो कारबाही पोखरामा हालसम्मको अवैध सुन–चाँदी नियन्त्रणसम्बन्धी ठूलो सफलतामध्ये एक भएको प्रहरीले जनाएको छ ।
