काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेमाथि भइरहेको कथित राजनीतिक प्रतिशोधको विरोधमा देशभर हस्ताक्षर संकलन अभियान तीव्र रुपमा चलिरहेको छ। सोही अभियानमा भिक्षु वर्गको समेत उल्लेखनीय सहभागिता रहेको रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले नेपाल खोज खबर लाई जानकारी दिएका छन्।

सहकोषाध्यक्ष बोहराका अनुसार न्यायको पक्षमा आवाज उठाउँदै विभिन्न धार्मिक क्षेत्रबाट समेत सहयोग प्राप्त भइरहेको छ।
“यो हस्ताक्षर अभियान अब कुनै राजनीतिक सीमामा सीमित छैन,” उनले भने, “देशभरका आम नागरिकसँगै बुद्ध धर्मावलम्बी भिक्षुहरूसमेत स्वतन्त्रताको र जनताका अधिकारको पक्षमा हस्ताक्षर गर्दै समर्थन जनाइरहेका छन्।”
यस अभियानलाई जनताको स्वतन्त्रता, निष्पक्ष न्याय प्रणाली र प्रतिशोधविहीन राजनीति सुनिश्चित गर्न दबाबको स्वरूपका रूपमा लिइएको छ। अभियानमा देश–विदेशमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको समेत बताइएका छ।
रास्वपाका नेताहरूले रबि लामिछानेमाथि भएको कदमलाई राजनीतिक उद्देश्यप्रेरित भन्दै यसको विरोध जनाउँदै आएका हुन।
अभियान अझ सशक्त बनाउँदै लैजाने तयारी भइरहेको र यसको माध्यमबाट सत्ताको दुरुपयोग विरुद्ध जनमत संगठित गर्ने प्रयास गरिने नेताहरूको भनाइ छ।
