दाङ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टी उत्पादन र उद्यमशीलताको मार्गमा अघि बढेको प्रस्ट पारेका छन्। तुलसीपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालकै धनाढ्य उद्योगपति विनोद चौधरीलाई आफ्नै पार्टीले दुई लाख किलो आलु बिक्री गरेको बताएका छ्न ।

‘आलु त हामीले विनोद चौधरीलाई नै दियौं,’ विप्लवले भने, ‘उहाँलाई लागेको थियो हामीले बढीमा बीस–तीस हजार किलो आलु दिन सक्छौं, तर हामीले लक्ष्यभन्दा बढी आलु दिन सफल भयौं।’ विप्लवका अनुसार चौधरी स्वयं यो उपलब्धिलाई “मिरेकल” को रूपमा हेरेका थिए। चौधरीले अहिलेसम्म आफूलाई सप्लाइ गर्ने सबैभन्दा ठूलो इकाइ नेकपा रहेको बताएका पनि उनले स्मरण गरे।
विप्लवले आफ्नो पार्टीले उत्पादन र पूँजी निर्माणका माध्यमबाट आत्मनिर्भर समाज निर्माण गर्न चाहेको बताए। ‘हामीले काठमाडौंसहित देशका तीन स्थानमा साना उद्योग स्थापना गरेका छौं र ती सबै नाफामा छन्,’ उनले दाबी समेत गरे। विप्लवका अनुसार कैलालीका किसानहरूसँगको अन्तर्क्रियाले किसानहरूलाई उत्साहित बनाएको छ।
यद्यपि, विप्लवले आफ्नो पार्टीमाथि अझैपनि अनेक संकाको दृष्टि राखिएको गुनासो गरे। ‘कतिपयले भन्छन् हामीले उत्पादन लिएर खाइदिन्छौं,’ उनले भने, ‘यहाँसम्म कि माओवादी समर्थकहरूले पनि पहाडका भेडा पालक किसानलाई नेकपालाई उत्पादन नदिनु भनेर डराएका छन्।’ उनले एक किसानलाई विश्वास दिलाएर किस्ता किस्तामा भुक्तानी गरिने सम्झौता गरिएको उदाहरण प्रस्तुत गर्दै पार्टीको इमानदार उत्पादनमूलक दृष्टिकोण प्रस्ट्याएका थिए ।
विप्लवको राजनीतिक पृष्ठभूमि के हो त
नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी जनयुद्धका एक प्रमुख नेता हुन्। २०६२/६३ को परिवर्तनपछिको शान्ति प्रक्रियापछि माओवादी पार्टी विभाजन हुँदै गएपछि उनले आफ्नै अलग पार्टी स्थापना गरे। हिंसात्मक गतिविधिमा संलग्न आरोपमा सरकारी प्रतिबन्ध खेपेको उनको पार्टी पछिल्लो समय वार्तामार्फत खुला राजनीतिमा प्रवेश गरेको छ।
अब उनी नेतृत्व गरेको नेकपा उत्पादन, उद्यमशीलता र स्थानीय विकासमा जोड दिँदै वैकल्पिक आर्थिक मोडल प्रस्तुत गर्ने प्रयासमा देखिन्छ। विप्लवको यो आलु कारोबार र साना उद्योग प्रवर्द्धन अभियानलाई धेरैले उत्पादनमूलक र आत्मनिर्भर अर्थतन्त्रको अभ्यासको रूपमा हेरेका छन्। पोछिल्लो समयमा उनी आफ्नो राजनीति र पार्टी लाई समेत बलियो बनाएर लैजान भन्दै बैकल्पिक राजन्तिको रुपमा आफ्नो पार्टी लाई स्थापित गर्ने लक्ष्य राखेका छ्न ।
