काठमाडौं, लुम्बिनी — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच उत्पन्न तनावपूर्ण अवस्थाबीच युद्ध नचलेकोमा सन्तोष व्यक्त गर्दै दुवै देशलाई संयमित भएकोमा धन्यवाद दिएका छन्।

लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति र अहिंसाका सन्देश आजको विश्व सन्दर्भमा झनै सान्दर्भिक रहेको उल्लेख गरे।
उनले भने, “केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।” प्रधानमन्त्री ओलीले नेपालले शुरुदेखिनै लडाइँ नहोस् भन्ने कामना गरेको र यसबारे सम्बन्धित पक्षसँग पनि छलफल गरिएको बताए।
“नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप–प्रत्यारोपको स्थिति छ,” उनले थपे।
प्रधानमन्त्रीले क्षेत्रीय शान्ति र स्थायित्वका लागि संवाद, संयम र सहकार्यलाई विकल्परहित भन्दै बुद्धको मार्गदर्शनलाई पछ्याउन आह्वान गरे
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रहरूलाई शान्तिपूर्ण समाधानको मार्ग रोजेकोमा प्रशंसा गर्दै, सम्पूर्ण विश्वले पनि यस्तै संयम र विवेक अपनाउनु पर्ने सन्देश दिएका छन्।
