काठमाडौ – भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासमा मृत अवस्थामा फेला परेकी भैरहवाकी प्रकृति लम्सालको अन्त्येष्टि गृहनगर भैरहवामा गरिएको छ।

बुधबार राति भैरहवाको स्वर्गद्वारी घाटमा उनको दाहसंस्कार गरिएको हो। रुपन्देही प्रहरीका प्रवक्ता सुरज कार्कीका अनुसार लम्सालको शवलाई केही समय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालको शवगृहमा राखिएको थियो। उनका बुवा सुनिल लम्साल भैरहवा पुगेपछि शवलाई घर ल्याएर श्रद्धाञ्जली दिइयो। त्यसपछि मध्यराति अन्त्येष्टि गरिएको हो। ओडियाबाट गोरखपुरसम्म हवाइमार्ग हुँदै त्यहाँबाट भैरहवा एम्बुलेन्समार्फत शव ल्याइएको थियो।
अन्त्येष्टिमा उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए। देवनाथ ७६ वर्षका छन्। लम्साललाई अन्तिम श्रद्धाञ्जली दिन उनका आफन्त, स्थानीयबासी तथा केआईआईटीमा अध्ययनरत सहपाठीहरू समेत उपस्थित भएका थिए। करिब राति ११ बजे शव उनको निवास सिद्धार्थनगर–८ मा पु-याइएको थियो, जहाँ श्रद्धाञ्जली अर्पण गरिसकेपछि १२ बजे अन्तिम संस्कारका लागि लगिएको थियो।
२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्साल आइतबार केआईआईटी छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाबारे भारतीय प्रहरीले अनुसन्धान जारी राखेको छ भने एकजनालाई हिरासतमा लिएको छ।
