अर्जुन थापा बुटवल – तीन दशकदेखि नेपाली लोकदोहोरी गायनमा सक्रिय रहेकी लोकप्रिय गायिका लक्ष्मी न्यौपानेले यस वर्षको तीजमा मौलिक स्वाद र पारिवारिक भावनाले भरिएको गीत लिएर आएकी छिन्। उनले गत शुक्रबार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘म त मसक्कै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन्।

उक्त गीतमा गायन र संगीत स्वयं लक्ष्मीको रहेको छ भने शब्द स्रष्टा शारदा न्यौपाने बस्यालको हो। श्यामश्वेत रसाइलीको संगीत संयोजनमा तयार गरिएको यो गीत करिब दुई दशकअघिको लोकप्रिय रचना हो, जसलाई गायिका न्यौपानेले पुनः नयाँ स्वाद र रङमा प्रस्तुत गरेकी छिन्।
छोरी निहारिकाको अभिनय डेब्यु उक्त गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र लक्ष्मीकी छोरी निहारिका रेग्मीले अभिनय गरेका छन्। विशेष कुरा के भने – निहारिकाले यही गीतमार्फत आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्। यसअघि उनले आमाका गीतहरूमा नृत्य गर्दै विभिन्न छोटा भिडिओहरू बनाउने गर्थिन्, जुन सामाजिक सञ्जालमा अत्यधिक रुचाइएका थिए। अब भने उनले पूर्ण रूपमा सांगीतिक भिडियोमा कलाकारको रूपमा डेब्यु गरेकी हुन्। उक्त गितमा अञ्जली अधिकारीको उत्कृष्ट अभिनयले समेत धेरैको ध्यान खिचेको छ ।
पारिवारिक प्रस्तुति, सन्देशमूलक गित ‘म त मसक्कै’ गीतमा तीजको मौलिक भाव, आमाको संगीतसँग छोरीको अभिनय, र पारिवारिक तीजको वास्तविक झल्को पाइन्छ। भिडिओको निर्देशन तथा कोरियोग्राफी चर्चित नृत्य निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) ले गरेकी छिन् भने छायाङ्कन बुद्ध थापा र सम्पादन नवीन घर्ती मगरले गरेका छन्।
हालै तीजको अवसरमा बजारमा सार्वजनिक भइरहेका धेरै गीतहरूलाई लिएर दर्शकले आलोचना गर्दै आएका छन्, विशेषतः परिवारसँग बसेर हेर्न/सुनन नसकिने खालका हुने गरेको टिप्पणी पाइन्छ। तर लक्ष्मी न्यौपानेको यो गीत भने मौलिकता, लोक रीतिरिवाज र पारिवारिक सौहार्दका हिसाबले उत्कृष्ट रहेको देखन सकिन्छ । यस गीतले धेरै दर्शक/स्रोताको मन जित्न सफल भएको छ।
तीन दशक लामो गायन यात्रामा लक्ष्मी न्यौपानेका थुप्रै गीतहरू सर्वाधिक चर्चित छन्। ‘टलटल टलिकनलाई’, ‘तीज आयो राजै’, ‘झल्को माइतीको’ लगायतका हिट गीतहरूले उनलाई नेपाली तीज गीतकी उत्कृष्ट गायिकाको आवाजका रूपमा चिनाएका छन्। यद्यपि उनका तिज बाहेकका पनि थुप्रै हिट गित हरु छ्न सायद न्यौपाने लाई नचिनेन कमै मात्रमा होलान गित संगीत प्रेमी हरु ।
यसपटक उनले नयाँ पुस्तालाई समेट्दै आफ्नै छोरीमार्फत अभिनयको सुरुवात गराउनु, पुरानो गीतलाई पुनः जिवित बनाउनु, र लोक र सांस्कृतिक मूल्यमान्यतालाई समेट्नु उनको कलात्मक सोचले अझ यो गितलाइ धेरै मन पराइएको छ ।
‘म त मसक्कै’ केवल एक तीज गीत मात्र नभइ , यो परम्परा, प्रेम र परिवारको सम्मिश्रण जस्तो देखिन्छ – जसले नेपाली तीजलाई आफ्नो मौलिक पहिचानमै मनाउन सकिन्छ भन्ने सन्देश दिएको छ। लक्ष्मी न्यौपानेको यो प्रयास गीतभन्दा पनि बढी एक सांस्कृतिक योगदान हो यसरी बुझन सकिन्छ ।
भिडियो

