काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले केवल औपचारिकताका लागि ल्याएको जस्तो देखिएको टिप्पणी गरेका छन्। संसद्मा नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै उनले यसले जनतामा निराशा पैदा गरेको बताए।

लिङ्देनले प्रस्तुत नीति तथा कार्यक्रमप्रति न जनताको आशा रहेको न त विश्वास नै रहेको उल्लेख गरे। फरक धारणा राख्ने दलको मतलाई पनि सम्मान गर्नुपर्ने बताए। बूढीगण्डकीजस्ता राष्ट्रिय गौरवका आयोजना प्राथमिकतामा नपरेकोप्रति उनले आपत्ति जनाए। युवाका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम नसमेटिएको भन्दै आलोचना गरे।
यसैगरी, सांसद राजेन्द्रप्रसाद पाण्डेले देश आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्समा निर्भर भएको बताए। उनले नीति तथा कार्यक्रमले जनजीविकासम्बन्धी समस्याको समाधान दिने स्पष्ट योजना नल्याएको उल्लेख गर्दै संस्थागत असक्षमता र कुशासन सच्याउने ठोस उपाय समेत प्रस्तुत गर्न नसकेको बताए।
