काठमाडौं, — कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले भारतका विदेशमन्त्री एस. जयशंकरसँग बुधबार टेलिफोन वार्ता गरेका छन्।

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार राति ‘अपरेसन सिन्दूर’ नामक हवाई कारबाही गरेपछि कतारका प्रधानमन्त्रीले भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।
कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “कतार भारत र पाकिस्तानबीच निरन्तर चुलिँदो तनावप्रति चिन्तित छ र दुवै पक्षलाई कूटनीतिक माध्यममार्फत समाधान खोज्न आग्रह गर्दछ।”
प्रधानमन्त्री शेख मोहम्मदले दुवै देशले संवाद र वार्ताका माध्यमबाट समाधान नभएका मुद्दाहरूलाई सकारात्मक ढंगले हल गर्नुपर्नेमा जोड दिएका छन्।
भारतको दाबीअनुसार उक्त हवाई कारबाही अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणका पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले गरिएको हो। भारतले स्थानीय समयअनुसार राति १:०५ देखि १:३० बजेसम्म चलेको अपरेसनमा नौ आतङ्कवादी शिविर ध्वस्त पारिएको जनाएको छ।
पाकिस्तानले भारतीय आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको दाबी गरेको छ। भारतले भने नियन्त्रण रेखाबाट पाकिस्तानतर्फ गरिएको गोलाबारीमा १० भारतीय नागरिकको ज्यान गएको र ३२ जना घाइते भएको जनाएको छ।
