नयाँ दिल्ली – भारतले पाकिस्तानका नौ वटा क्षेत्रमा गरेको हवाई आक्रमणबारे विश्वका प्रमुख देशहरूलाई जानकारी गराएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रुसलाई आक्रमणबारे औपचारिक जानकारी प्रदान गरिएको छ।

यस सैन्य कारबाहीप्रति विभिन्न अन्तर्राष्ट्रिय नेताहरूले चिन्ता र प्रतिक्रिया व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आक्रमणलाई ‘लज्जास्पद’ भन्दै यसको कडा निन्दा गर्नुभएको छ। बीबीसी हिन्दीका अनुसार ट्रम्पले पछिल्लो तनाव चाँडै समाप्त हुने आशा व्यक्त गर्नुभएको छ।
त्यसैगरी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँदै, शान्तिपूर्ण समाधानका लागि भारत र पाकिस्तान दुवै नेतृत्वसँग संवाद गर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि भारतीय सैन्य कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले दुवै देशलाई अधिकतम सैन्य संयमता अपनाउन अपिल गर्दै भारत–पाकिस्तानबीचको सशस्त्र टकरावलाई विश्वले सहन नसक्ने चेतावनी दिनुभएको छ।
भारतको आक्रमणको पृष्ठभूमिमा गत अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमण रहेको बताइएको छ। सो आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो। उक्त घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसिएको हो।
अन्तर्राष्ट्रिय समुदायले हालको तनावलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न दुबै पक्षलाई आह्वान गरिरहेका छन्।
