काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले समालेका छन।

लामिछाने पक्राउ भएलगत्तै हिजो बेलुकी बसेको पार्टीको सचिवालय बैठकले अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हुन ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै, आज दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
सम्भावित घुसपैठ, चलखेल र बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन बैठकले निर्देशन दिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसूरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै प्रहरीले गएराति बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ गरेको हो ।
लामिछानेलाई आज रुपन्देही कारागार लगिँदैछ । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्नुभएको हो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । त्यसपछि लामिछाने साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालत जानुभएको थियो ।
सरकारी वकिलको कार्यालयसमेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो । यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । उच्च अदालतले तीनवटै निवेदन एउटैमा राखेर सुनुवाइ गरेपछि त्यो आदेश बदर गर्नुपर्ने ठहर गरेको हो ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ । सुप्रिम सहकारीबाट ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
पदमा रहेको अवस्थामा उहाँले सहकारीबाट ऋण लिएकोबारे आफूलाई केही थाहा नभएको जिकिर गर्नुभएको थियो । तर, उच्च अदालतले उहाँको बयान ‘पत्यारलाग्दो नदेखिएको’ भनेको छ ।
