
- नेपालमा आएको बाढीपीडितलाई सहयोग गर्न जापानमा राहत संकलन अभियान सुरु गरिएको छ।
- सरोज भुषालको पहलमा जापानका करिब २० वटा सुपरमार्केटमा दान पेटिका राखिएका छन्।
- यस अभियानमा जापानमा रहेका नेपाली र स्थानीय नागरिकले स्वेच्छिक रूपमा सहयोग गर्न सक्नेछन्।
टोकियो, जापान ।
नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले जापानमा राहत संकलन अभियान सञ्चालन हुने भएको छ।
जापानमा कार्यरत तथा सामाजिक कार्यमा सक्रिय नेपाली युवा सरोज भुषालको पहलमा उनी कार्यरत कम्पनी शिनानोयाको स्वीकृतिमा कम्पनीअन्तर्गत सञ्चालित करिब २० वटा सुपरमार्केटमा राहत रकम संकलनका लागि ‘बोकिन बाको’ (दान पेटिका) राखिएको छ।
नेपालमा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले भुषालले आफू कार्यरत कम्पनीसमक्ष राहत संकलन अभियान सञ्चालन गर्न प्रस्ताव गरेका थिए।
उनको प्रस्तावलाई कम्पनीले सकारात्मक रूपमा स्वीकार गर्दै आफ्ना सुपरमार्केटहरूमा दान पेटिका राख्ने व्यवस्था मिलाएको भुषालले जानकारी दिए।
जापानमा रहेका नेपाली तथा स्थानीय नागरिकले समेत आफ्नो इच्छाअनुसार सहयोग गर्न सक्ने गरी अभियान सञ्चालन गरिएको जनाइएको छ।
नेपालमा विपत्ति पर्दा विदेशमा रहेर पनि आफ्नो देश र पीडित नागरिकका लागि सहयोग जुटाउने यो पहलले मानवीय एकताको सकारात्मक सन्देश दिएको छ।
