

रुपन्देही। नेपालका विश्वविद्यालयहरूमा पाठ्यक्रमको एकरूपता सुनिश्चित गर्दै उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न लुम्बिनीमा सम्पन्न उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलनले दश बुँदे घोषणापत्र जारी गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा सम्पन्न उक्त सम्मेलन बुधबारबाट शुरू भएको थियो। सम्मेलनमा नेपाल र भारतका १४ जना उपकुलपतिहरू तथा पूर्व उपकुलपतिहरूको उपस्थिति थियो। साथै, नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरूको सहभागिता रहेको थियो।
सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र कृत्रिम बुद्धिमत्ताको (एआई) उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ। उपकुलपतिहरूले समावेशी र पहुँचयुक्त शिक्षाको सुनिश्चितताको प्रतिबद्धता जनाएका छन्। साथै, तार्किक नक्साङ्कन र मानव संसाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै नयाँ विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन्।
दश बुँदे घोषणापत्रमा विश्वविद्यालयहरूमा पूर्वीय दर्शन र नैतिक सिद्धान्तलाई पाठ्यक्रममा समावेश गर्न, बजारमुखी र नैतिकता-आधारित पाठ्यक्रम विकास गर्न, तथा उच्च शिक्षाको गुणस्तर सुधारका लागि कृत्रिम बुद्धिमत्ताको उपयोगलाई प्रवर्द्धन गर्ने उल्लेख छ। साथै, एआईको प्रयोगबाट उत्पन्न तनाव व्यवस्थापनका लागि योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
उपकुलपतिहरूले उच्च शिक्षाको मापदण्ड निर्धारण तथा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। साथै, अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन निकायको आवश्यकता औंल्याएका छन्।
घोषणापत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संकाय आदान-प्रदान कार्यक्रम सञ्चालन गर्ने, क्रेडिट बैंक, क्रेडिट ट्रान्सफर तथा संयुक्त डिग्री कार्यक्रमलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, मौलिक ज्ञान र सांस्कृतिक एकीकरण प्रवर्द्धन गर्न परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक अध्ययनमा समावेश गर्ने तथा अनुसन्धान र विकासका लागि सहकार्यात्मक लगानी प्रवर्द्धन गर्ने घोषणा गरिएको छ।
पर्यटन केन्द्रीय शैक्षिक कार्यक्रम विकास गर्ने, पर्यटकहरूका लागि छोटो अवधिका शैक्षिक तालिमहरू उपलब्ध गराउने तथा रोजगारमुखी शिक्षाद्वारा प्रतिभा पलायन रोक्न सीपमूलक पाठ्यक्रम लागू गर्ने निर्णय गरिएको छ। विद्यार्थीहरूलाई परामर्श तथा रोजगारमुखी तालिम प्रदान गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
उपकुलपतिहरूले चालु २०८० को दशकलाई प्राज्ञिक र सिर्जनात्मक शिक्षाको दशकका रूपमा प्राथमिकता दिने घोषणा गरेका छन्। यस घोषणापत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरप्रसाद यादव, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज केसी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया, मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा. प्रदीप ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. डा. हृदयरत्न बज्राचार्य, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइराला, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिनोद प्रसाद ढकाल, भारतको नालन्दा विश्वविद्यालयका उपकुलपति प्रा. डा. अभयकुमार सिंह, तथा सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा. डा. कविता शाहले हस्ताक्षर गरेका छन्।
उक्त सम्मेलन उच्च शिक्षामा बौद्ध दर्शनको अन्तर्राष्ट्रियकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण तथा नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रित रहेको थियो।
सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी तथा विदेशी गरी १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौता गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यका अनुसार, अनुसन्धानसहित प्राज्ञिक उन्नतिको गतिविधि सहकार्यमा सञ्चालन गर्नका लागि सम्झौता गरिएको हो।
उक्त सम्मेलनले नेपालमा उच्च शिक्षाको स्तरवृद्धि, विश्वविद्यालयहरूबीच समन्वय, तथा नवप्रवर्तन र अनुसन्धान सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

