
- दाङको चुरे क्षेत्रमा वन्यजन्तुलाई पानीको सहज उपलब्धता गराउन वन कार्यालयले कृत्रिम पोखरी निर्माण र मर्मत गरेको छ।
- पानीको खोजीमा वन्यजन्तु मानव बस्तीमा पस्ने क्रम घट्दा वन्यजन्तु र मानिसबीचको द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ।
- यी पोखरीले वन्यजन्तुको संरक्षण गर्नुका साथै भू–जल पुनर्भरण, वनको चिस्यान र डढेलो नियन्त्रणमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
काठमाडौ – दाङको चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण र जलस्रोत व्यवस्थापनका लागि संरक्षण पोखरी निर्माण गरिएको वन क्षेत्रमा पानीका मुहान सुक्दै जान थालेपछि वन्यजन्तुलाई सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय दाङ देउखुरीले वन्यजन्तुमैत्री पानी पोखरी निर्माणलाई प्राथमिकता दिएको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा तीन वटा नयाँ पानी पोखरी निर्माण गरेको छ भने एउटा पुरानो पोखरीको मर्मतसम्भार गरेको छ । लमही–८ स्थित उपकार सामुदायिक वन, गंगा सामुदायिक वन गढवालगायतका क्षेत्रमा निर्माण गरिएका पोखरीले वन्यजन्तुको बासस्थान संरक्षणमा सहयोग पुर्याउन थालेका छन् ।
डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख गणेश खड्काले वन संरक्षणसँगै वन्यजन्तुको सुरक्षित आवास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए ।
उनका अनुसार पानीको खोजीमा वन्यजन्तु बस्ती तथा सडक क्षेत्रमा पुग्ने अवस्था घट्दा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुगेको छ ।
वरिष्ठ फरेस्टर चिरञ्जीवी खनालले चुरे क्षेत्रमा प्राकृतिक पानीका स्रोत सुक्दै गएकाले कृत्रिम पोखरी निर्माण संरक्षणको प्रभावकारी माध्यम बनेको बताएका छन।
यस्ता पोखरीले पाटेबाघ, चितुवा, मृग, बँदेललगायत वन्यजन्तुलाई पानी उपलब्ध गराउनुका साथै चराचुरुङ्गी र अन्य जीवजन्तुको संरक्षणमा समेत योगदान पुयाउने उनको भनाइ रहेको छ ।
वर्षाको पानी संकलन हुने भएकाले यस्ता पोखरीले भू–जल पुनर्भरण, वन क्षेत्रको चिस्यान कायम राख्ने र वन डढेलोको जोखिम घटाउने अपेक्षा गरिएको हो ।
संरक्षण पोखरी वन्यजन्तुको प्यास मेटाउने संरचना मात्र नभई जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनको महत्वपूर्ण आधार बन्दै गएका छन् ।
