
- अर्घाखाँचीको श्री शान्ति माध्यमिक विद्यालयमा ११० जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति वितरण गरिएको छ।
- अक्षयकोष र नेनाज फाउन्डेसनको सहयोगबाट गरिब, जेहेन्दार तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाभान्वित भएका छन्।
- यस्ता कार्यक्रमले विद्यार्थीमा उत्साह जगाउनुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
बिनोद खड्का अर्घाखाँची – श्री शान्ति माध्यमिक विद्यालय, मालारानी गाउँपालिका–५, बाँगी, आरुखोरमा विभिन्न छात्रवृत्ति अक्षयकोष तथा नेनाज फाउन्डेसनको सहयोगमा ११० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।
विद्यालयमा स्थापित विभिन्न अक्षयकोषहरूको ब्याज रकमबाट शैक्षिक सत्र २०८३ मा अध्ययनरत गरिब, विपन्न, जेहेन्दार, लगनशील तथा अनुशासित ६२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। त्यसैगरी, शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा कक्षा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने ४५ जना विद्यार्थी र नेनाज फाउन्डेसनबाट छनोट भएका ३ जना विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक मानबहादुर पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षा प्रेमी तथा अम्बिदीप अक्षयकोषका सञ्चालक नरेन्द्रकुमार क्षेत्रीको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विभिन्न छात्रवृत्ति अक्षयकोषका सञ्चालक, शिक्षा प्रेमी, जनप्रतिनिधि, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित अतिथिहरूले छात्रवृत्तिले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गर्दै यस्ता अक्षयकोषहरूको स्थापना तथा निरन्तरताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन शिक्षक बसन्तबहादुर खड्काले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक ताराप्रसाद भुसालले राख्नुभएको थियो। कार्यक्रमको समापन अध्यक्ष तथा प्रधानाध्यापक मानबहादुर पाण्डेले गर्नुभएको थियो।
श्री शान्ति माध्यमिक विद्यालयमा स्थापित विभिन्न छात्रवृत्ति अक्षयकोषहरू तथा सहयोगी संस्थाहरूको निरन्तर सहयोगले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन मिल्दै आएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको व्यहोरा विद्यालयका सहायक प्रशिक्षक जय बहादुर रोकायले जानकारी दिनुभयो।


