

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत भएका छन्।
बुधबार आयोजित एक विशेष समारोहमा भाटभटेनी सुपरमार्केटले उनलाई सम्मानस्वरूप पाँच लाख एक हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार तथा पाँच ग्रेड बढुवा प्रदान गरेको छ। उक्त सम्मान सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले हस्तान्तरण गरेका थिए।
गत शुक्रबार राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाटको प्रयास भएको थियो। सो क्रममा सुरक्षा गार्ड पराजुलीले आक्रमणकारीहरूलाई लाठी प्रहार गर्दै बाहिर लखेटेका थिए। भाटभटेनी सुपरमार्केटका अनुसार सो घटनामा करिब ८० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
सुरक्षा गार्ड पराजुलीको साहसिक कार्यको सर्वत्र प्रशंसा भइरहेको छ।
