काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समाधानका सम्भावित विकल्पबारे छलफल गरेका छन्।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने मुख्य मागसहित महासङ्घको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन्।
प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागहरूप्रति गम्भीर ध्यान दिँदै गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई आवश्यक गृहकार्य गरी वार्ता र संवादमार्फत समस्या समाधानको निर्देशन दिएका थिए।
त्यसैअनुसार, मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गर्दै वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् बैठक आह्वान गर्ने निर्णय गरेको छ।
सरकारले महासङ्घका मागहरूप्रति संवाद जारी राख्ने प्रतिबद्धता जनाउँदै विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले आन्दोलन फिर्ता गरी शिक्षण कार्यमा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए रहेका थिए
