अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई जोड्ने लक्ष्यसहित मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताएका छन्।

प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरीसँग देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलका क्रममा मुख्यमन्त्री आचार्यले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन सम्भव हुने बताएका हुन्।
“प्रदेश सरकारले बुद्ध सर्किटको योजना बनाइसकेको छ। अब यहाँ मोनोरेल सञ्चालन गर्न सकिन्छ, जसमा निजी क्षेत्रको लगानी आकर्षित गर्न सकिन्छ,” मुख्यमन्त्री आचार्यले भने। उनले प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्न तयार रहेको स्पष्ट पार्दै मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिने बताए।
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनीलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले विभिन्न पहल गरिरहेको छ। पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उनले जानकारी गराए।
छलफलका क्रममा सांसद चौधरीले आगामी आर्थिक वर्षका लागि स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनी पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना बनाउन आग्रह गरे।
