अर्घाखाँची – छाडा कुकुरको संख्या बढ्दै जाँदा जनस्वास्थ्य तथा वातावरणीय समस्या गम्भीर बन्दै गएको छ। सडकमा अनियन्त्रित रूपमा विचरण गर्ने कुकुरहरूका कारण विभिन्न रोगहरूको संक्रमण फैलिनुका साथै सडक दुर्घटनाको सम्भावना बढेको छ। यही समस्यालाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिकाले कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालका अनुसार यो अभियानमार्फत पहिलो चरणमा २० वटा कुकुरको बन्ध्याकरण गरिनेछ। यसबाट कुकुरहरूको अनियन्त्रित वृद्धि रोक्न सकिने तथा नगरलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने अपेक्षा गरिएको छ। वातावरण संरक्षण तथा सरसफाइ समूह ‘ग्रीन युथ’ को सहयोगमा सञ्चालन गरिएको यस अभियानमा कुकुरहरूको सर्जिकल बन्ध्याकरण गरिनुका साथै उनीहरूको उचित हेरचाह, खुवाउने व्यवस्था तथा आवश्यक पशु स्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ ।

सडकमा छाडा कुकुरहरूको संख्या बढेसँगै पैदलयात्रीहरू, विशेष गरी बालबालिका र राति यात्रा गर्ने नागरिकहरूका लागि खतरा बढेको थियो। कुकुरको टोकाइबाट रेबीज (जलादि) जस्ता गम्भीर रोगको संक्रमण फैलने जोखिम रहेकोले यो अभियान महत्वपूर्ण हुने बताइएको छ। नगरपालिकाले बन्ध्याकरणपछि कुकुरहरूको खानपान तथा आश्रय व्यवस्थापनका लागि दीर्घकालीन योजना निर्माण गर्ने नगर प्रमुख श्रेष्ठले बताएका छ्न ।
नगरपालिकाले आगामी दिनहरूमा पनि सो अभियानलाई निरन्तरता दिने योजना बनाएको छ। छाडा कुकुरहरूको वैज्ञानिक व्यवस्थापनमार्फत मात्र जनस्वास्थ्य तथा वातावरणमा सुधार ल्याउन सकिने भएकाले यस अभियानलाई प्रभावकारी बनाइने बताइएको छ। स्थानीय तह, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको भन्दै नगरपालिकाले सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।
