काठमाडौ – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डको पुनः छानबिनबारे अभिव्यक्ति दिएका छन्। उनका अनुसार, यदि २०६४ सालको निर्वाचनपछि आफूले पाँच वर्ष शासन गर्ने अवसर पाएको भए, दरबार हत्याकाण्डको छानबिन गर्ने योजना थियो। उनको यो अभिव्यक्तिपछि राजनीति पार्टीमा मिश्रित प्रतिक्रिया आउन थालेको छ ।

कतिपयले यसलाई सकारात्मक रूपमा लिएका छन् भने कतिपयले यसलाई केवल राजनीतिक अभिव्यक्ति मात्र भएको टिप्पणी गरेका छन्। २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र भएको उक्त घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको हत्या भएको थियो। तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर गर्दै घटनालाई पारिवारिक कलहको नतिजा भएको निष्कर्ष निकालेको थियो। तर, घटनाका धेरै पक्ष अझै रहस्यमय छन्, जसले गर्दा पुनः छानबिनको माग पटक–पटक उठ्दै आएको छ।
हालै, पूर्वराजा ज्ञानेन्द्र शाहले वीरगञ्जमा आयोजित कार्यक्रममा दरबार हत्याकाण्डबारे पुनः चर्चा गर्दै आफू र आफ्नो परिवारमाथि गलत प्रचार गरिएको दाबी गरेका थिए। उनले भनेका थिए, “राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइयो। हामी र हाम्रो परिवारमाथि घातक प्रहार भयो।” ज्ञानेन्द्र शाहको अभिव्यक्तिपछि यस घटनाबारे पुनः बहस सुरु भएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समेत दरबार हत्याकाण्डलाई भयानक षड्यन्त्रको संज्ञा दिँदै छानबिन समितिमाथि नै प्रश्न उठाएका छन्। उनले भनेका छन्, “एकै रातमा राजा, रानी, युवराज, अधिराजकुमार र अधिराजकुमारीसहित वीरेन्द्र वंश नै नासियो। यस घटनाको सत्य अझै बाहिर आउन सकेको छैन।”
प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डलगायतका अन्य विवादित घटनासँगै दरबार हत्याकाण्डको पनि नयाँ छानबिन आवश्यक भएको बताएका छन्। उनले भने, “विगतका सबै विभत्स घटनाहरूको पुनः छानबिन हुनुपर्छ। चाहे त्यो गौरको घटना होस् वा दरबार हत्याकाण्ड।” तर, कानूनी र राजनीतिक दृष्टिकोणले हेर्दा पुनः छानबिन सहज देखिँदैन।
घटनाको लामो समय बितिसकेको, प्रमाणहरूको अभाव रहेको, तथा राजनीतिक सहमति जुटाउनु चुनौतीपूर्ण हुने विश्लेषकहरू बताउँछन्। नेपालको हालको राजनीतिक परिस्थितिमा दरबार हत्याकाण्डको पुनः छानबिन कत्तिको सम्भव छ भन्ने प्रश्न अनुत्तरित छ। तर, समय–समयमा उठ्ने यस्ता अभिव्यक्तिहरूले घटनाबारेको चासो भने जीवित राख्ने काम गर्दै आएका छन्।

