
धनुषा – धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा शुक्रवार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस शुक्रवार बिहान ९ बजे दुर्घटनाग्रस्त भएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार घाइते यात्रुहरूको उद्धार गरी विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेका करिब ६ जनालाई गम्भीर चोट लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ। घाइतेहरूको उपचार ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभएको छ।

