अनिल नेपाली

कपिलवस्तु – कपिलवस्तु शिवराजमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज एक समारोहबीच सम्पन्न भएको छ। दलित पत्रकार संघको आयोजनामा फागुन १ गतेदेखि सुरु भएको तालिममा जिल्लाका दश पालिकाका २४ किशोर-किशोरी सहभागी भएका थिए।
समापन कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सत्य र तथ्यका आधारमा पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरूलाई खबरदारी गर्ने र राम्रा कामलाई जनतासमक्ष पुर्याउने जिम्मेवारी पत्रकारको हुने बताए। उनले समाचार लेख्दा संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्रले पत्रकार समाजको ऐन रहेको उल्लेख गर्दै पत्रकारिता राष्ट्रको चौथो अंग भएकाले सरकारले गरेका हरेक काममा निगरानी गर्नुपर्ने बताए। तालिममा सिकिएका कुराहरू व्यवहारमा उतार्न आग्रह गर्दै नवआगन्तुक पत्रकारहरूलाई सफलताको शुभकामना समेत दिएका थिए ।
दलित पत्रकार संघका केन्द्रीय सदस्य चिन्ता परियारले तालिममा आधारभूत विषय सिकाइएको भए पनि पत्रकारितामा अझ अध्ययन आवश्यक पर्ने बताए। उनले क्षमता विकाससँगै निरन्तर अध्ययन गर्न सुझाव समेत दिएका थिय ।
कार्यक्रममा दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपाली, पत्रकार महासंघ कपिलवस्तु सचिव सनिउल्लाह धोबी, प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संघका अध्यक्ष सम्भु विकले तालिमले दलित पत्रकारहरूको क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै कपिलवस्तुका सबै पालिकामा पत्रकारितालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। तालिमको समापन कार्यक्रम सम्भु विकको अध्यक्षता तथा जिल्ला सचिव सागर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।
तस्बिर सहित

