काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली भूमिगत गर्ने तथा मर्मतसम्भारका लागि काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडरअन्तर्गत पर्ने वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ।
त्यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी टोली केन्द्र, निर्मल निवास लगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन तथा पोल स्थानान्तरण गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध रहनेछ।
यसैगरी, भोजपुर वितरण केन्द्र तथा सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने केही स्थानमा मर्मत कार्य तथा रुखका हाँगा काट्ने प्रयोजनका लागि आज विद्युत् सेवा बन्द गरिने जनाइएको छ।
विद्युत् प्राधिकरणले प्रभावित स्थानका ग्राहकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै निर्धारित समयअघि नै काम सम्पन्न गर्न क्रियाशील रहने जनाएको छ।
