काठमाडौ – प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित बनाउने ५१ वटा युट्युब च्यानलमाथि निगरानी राखेको छ। ‘अमला काण्ड’ भनेर चर्चित सो घटनासम्बन्धी सनसनीपूर्ण सामग्री सम्प्रेषण गर्ने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना वा अफवाह फैलाउने सामग्री प्रशारण गर्ने च्यानलहरू कारबाहीको सूचीमा परेका प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि १५ वटा युट्युब च्यानललाई थप कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको छ। त्यस्तै, मौखिक निर्देशनपछि १६ वटा युट्युब च्यानलले सामग्री हटाई क्षमायाचनासहित जवाफ दिएका छन्। काउन्सिलले ११ वटा च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन दिएपछि ७ वटाले त्यसलाई हटाउँदै क्षमायाचनासहित जवाफ पठाएको काउन्सिलले जनाएको छ
यसअघि, काउन्सिलले झापा घटनासम्बन्धी भ्रामक वा आचारसंहिताविपरीत सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो। त्यसयता, ६ वटा युट्युब च्यानलका सञ्चालकहरू काउन्सिलमा उपस्थित भई क्षमायाचना गरिसकेका छन् भने ७ वटा च्यानलले भूलसुधार गरेको काउन्सिलले जनाएको छ ।
