काठमाडौं, चैत २५ – सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले समग्र वित्तीय शोषणको अन्त्यको माग गर्दै सोमवार राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन्।

शान्तिबाटिकादेखि सुरु भएको प्रदर्शन शीतल निवास नजिकसम्म पुगेको थियो। पीडितहरूले राष्ट्रपति भवन शीतलनिवास अगाडि धर्ना दिने योजना बनाएका थिए तर प्रहरीले निषेधित क्षेत्र उल्लंघन गर्न नदिँदा उनीहरू त्यहीँ रोकिएका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘वित्तीय माफियालाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’, ‘पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघाती हुन्’, ‘सात पुस्ते सम्पत्ति जफत गर’, ‘सहकारी संस्थाको नियमन र नियन्त्रण नगर्ने सरकार नालायक हो’ भन्नेजस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए। उनीहरूले सरकारविरुद्ध तीव्र नाराबाजीसमेत गरेका थिए।
प्रदर्शनकारीहरूका अनुसार करिब तीन खर्ब रुपैयाँभन्दा बढी रकम सहकारीमार्फत अपचलन गरिएको छ। यसमा विभिन्न राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मको संलग्नता रहेको आरोप उनीहरूले लगाएका छन्।
उनीहरूले संगठित वित्तीय ठगी, अपारदर्शी कारोबार र राज्यको कमजोर नियमनप्रति आक्रोश व्यक्त गर्दै सरकारलाई तत्काल कडा कारबाही गर्न दबाब दिएका छन्। यस्तै, पीडितहरूले आफूहरूको लगानी सुरक्षित गरी छिटोभन्दा छिटो फिर्ता गरिनुपर्ने मागसमेत अघि सारेक छन्।

