

रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि मुलुकमा अस्थिरता सिर्जना गर्दै सत्ताकब्जाको प्रयास गरेको आरोप लगाएका छन्।
थापाले १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको घटनालाई उदाहरण दिँदै भने, “पूर्वराजा ज्ञानेन्द्र नेपालमा अशान्ति फैलाएर सत्तामा फर्किन चाहन्छन्। तर, उनको यो योजना सफल हुन सक्दैन।” उनले नेपालमा बेलायतको जस्तो संवैधानिक राजतन्त्र सम्भव नरहेको स्पष्ट पार्दै भने, “नेपालका राजाहरूलाई संवैधानिक भएर बस्न पटक–पटक अवसर दिइयो, तर उनीहरू सधैं शासन कब्जा गर्न खोजे। त्यसैले नेपाली कांग्रेसले जननिर्णयका आधारमा गणतन्त्रलाई संस्थागत गर्यो।”
राजतन्त्रप्रतिको कांग्रेसको अनुभव
महामन्त्री थापाले कांग्रेसको इतिहास स्मरण गराउँदै राजा त्रिभुवन भारत जाँदा बीपी कोइरालाले उनलाई नेपाल फर्काएको र राजा महेन्द्रले २०१७ सालमा निर्वाचित सरकारलाई हटाएपछि पनि कांग्रेसले संवैधानिक राजतन्त्रको समर्थन गरेको बताए।
“दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहलाई गद्दीमा बसालियो, तर उनी संवैधानिक बन्न असफल भए,” थापाले भने। उनले माघ १९ को राजकीय कदमबारे स्मरण गर्दै थपे, “गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाई राजा बनाए, तर उनले पुनः सत्ता हातमा लिने प्रयास गरे। माघ १८ गते शेरबहादुर देउवाले राजालाई भेटेर प्रजातन्त्र बचाउन आग्रह गरेका थिए, तर भोलिपल्टै उनलाई जेल हालियो।”
गणतन्त्र स्थायी भइसकेको दाबी
थापाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गर्दै भने, “गणतन्त्र अब नेपालको स्थायी व्यवस्था बनिसकेको छ। पूर्वराजा ज्ञानेन्द्रले सत्ताकब्जाको प्रयास गरिरहेका छन्, तर नेपाली जनताले उनलाई स्वीकार्ने छैनन्। कांग्रेस लोकतन्त्रको रक्षाका लागि सधैं दृढ रहनेछ।”

