मानिसलाई प्रायः अरुले दिएको दु:खले भन्दा आफूले गरेको गल्तीले दु:ख दिइरहेको हुन्छ । आफूले गरेको गल्ती बिर्सन पनि गाह्रो हुन्छ । प्रेम, सम्बन्ध या विवाह मानिसको सम्पूर्ण जीवन होइन, एउटा सानो पाटो मात्रै हो । त्यो सानो पाटोलाई सम्पूर्ण जिन्दगी झैँ गरी अनेक कोणबाट प्रस्तुत गरिरहनु आवश्यक छैन ।
✍ बबिता बस्नेत
हरेक मानिस आफ्नो नराम्रो विगतलाई बिर्सन चाहन्छ । कतिपय घटनाहरू बिर्सन गाह्रो भएर आफ्नो मन र मष्तिष्कसँग लामो सङ्घर्ष गर्नुपर्ने हुन्छ । आफैसँगको लडाइँ एकातिर हुन्छ भने हिजोआज कतिपय ‘सेलिब्रटी’हरूलाई मिडियामा छाउने आफ्नो विगतसँग सामना गर्नु अर्को कठिन काम बन्न थालेको छ । केही समयअघि एक गायिकाको पतिसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा यसरी कुराहरू आए, अझैपनि आइ नै रहेका छन् मानौँ यो संसारमा पतिसँग सम्बन्ध बिग्रने उनै एक जना हुन् । भोकाएको बाघले ठुलै सिकार भेटेझैँ गरी युटुबरहरूले बनाएका स-साना भिडियोले रिल र टिकटकमा एकछत्र राज गरे । के उनको सम्बन्ध टुटेकै हो त ? किन टुट्यो होला ? को उस्तो ? उनका श्रीमानले के भने ? उनले के भनिन् ? उनी किन श्रीमान् छोडेर नेपाल आइन् ? यसरी कुराहरू आए मानौँ उनको जीवन उनका श्रीमानसँग मात्रै जोडिएको छ । उनको अस्तित्व, यो संसारमा उनको उपस्थिति नै विवाह गर्न र उनका श्रीमानसँग राम्रो सम्बन्ध बनाउनका लागि भएको थियो ।

अहिले एक नायिकाको सम्बन्ध बिच्छेदको प्रसङ्गले त्यत्तिकै ठाउँ लिएको छ । उनका पतिका यसअघिका पत्नीका बारेमा पनि खोजी खोजी चर्चा गरिँदैछ । ‘अब यो मान्छेसँग मेरो कुनै प्रकारको सम्बन्ध छैन’ भनेर सम्बन्ध बिच्छेद गरेका महिला, पुरुष या कसैका विषयमा पनि खोजी खोजी नाम जोडेर चर्चा गर्नु अमानवीय हिंसा हो । कसैले अब मेरो कुनै सम्बन्ध छैन भनी कानूनी प्रक्रिया पूरा गरेर अलग भइसकेपछि ‘होइन, हिजो तिम्रो यो सँग सम्बन्ध थियो, यस्तो थियो, उस्तो थियो’ भनेर घाउ बल्झाइरहनु मानवीय कार्यभित्र पर्दैन । जुन कार्य अहिले हामी मिडिया र सोसियल मिडियाबाट गरिरहेका छौँ । नराम्रो विगतले त्यसैपनि मानिसलाई नकारात्मक भावना मनमा उत्पन्न गराइरहेको हुन्छ । मानिसले जीवनमा कुनै न कुनै गल्ती गरेको हुन्छ । कुनै पनि गल्ती नगर्ने मानिस सायदै यो संसारमा होलान् । कहिले प्रेममा, कहिले विवाहमा, कहिले रोजाइमा, कहिले पेशा ब्यवसायमा, कहिले अन्य ब्यवहारिक जीवनमा गल्तीहरू भइरहेका हुन्छन् । जीवनमा गल्ती भयो, अब म सकेसम्म यस्तो गल्ती गर्दिनँ भन्दा भन्दै पनि कहिलेकाहीँ मानिसबाट थप गल्ती पनि हुनसक्छ ।
विवाहलाई नै उदाहरणका रूपमा लिऔँ, पहिलो विवाह राम्रो भएन भनेर कतिपय मानिसले दोश्रो विवाह गर्छन् । यो मान्छे त सही होला, पहिला जस्तो नहोला, जिन्दगी सहजरूपमा बित्छ होला भनेर गरिएको दोश्रो विवाह पनि टुट्न सक्छ । हिजोसम्म सही जस्तो लागेको मान्छेले समयक्रममा गलत ब्यवहार गरिदिन्छ त के गर्ने ? जतिसुकै राम्रो मानिस भएपनि कतिपय अवस्थामा जीवनमा यस्ता घटनाहरू भइदिन्छन् जुन आफ्नो हातमा मात्र हुँदैन । चर्चित अमेरिकन टेलिभिजन प्रस्तोता ल्यारी किङ्गले जीवनमा आठ वटा विवाह गरे । अन्तिम विवाहपछि उनले भनेका थिए- ‘योचाहिँ राम्रो होला, अबचाहिँ ठिक होला भनेर मैले सधै जीवनमा राम्रो जीवनसाथीको चाहना गर्दागर्दै आठ वटा विवाह गरेँ । अरुले हेर्दा यो मान्छे ठिक भएको भए यतिका विवाह गर्थ्यो त भन्न सक्छन् तर म खराब मान्छे होइन ।’ कसैले एकै पल्ट दुई/तीन जना विवाह गर्छ या एकै पटक धेरै जनासँग सम्बन्धमा रहन्छ भने त्यो गलत हो तर एउटा सम्बन्ध टुटेपछि अर्को सम्बन्ध जोड्छ भने त्यसलाई आपत्तिजनक मान्न मिल्दैन । विगतका सम्बन्धहरू हिंसात्मक भने हुन भएन । हिंसात्मक ब्यवहारका कारण सम्बन्ध टुट्नु र विचार नमिलेर, एकार्काका रुचि र चाहना फरक भएर सम्बन्ध टुट्नु फरक कुरा हो ।
मानिसले नयाँ जीवन सुरु गर्नका लागि विगतलाई बिर्सनुपर्ने हुन्छ । विगतका पीडादायी सम्झनाबाट मुक्ति पाउन त्यति सहज हुँदैन । विगतका सम्झनाहरू राम्रा पनि हुन सक्छन् तर राम्रा कुराहरूले भन्दा नराम्रा कुराले मानिसको मष्तिष्कमा बढि ठाउँ लिइरहेको हुन्छ । पीडादायी सम्बन्धबाट मुक्ति पाउनका लागि मानिसले सम्बन्धबिच्छेद गरेको हुन्छ । अनि हामी मिडिया र सोसियल मिडियामार्फत ती पीडादायी अनुभूतिहरूलाई पटक-पटक सम्झन बाध्य बनाइरहेका छौँ । हामीकहाँ सम्बन्ध बिच्छेद बढ्दै जाँदा यसको कारण खोज्नुभन्दा बढी ब्यक्तिगत घटनामा गएर सम्बन्धित ब्यक्तिहरूलाई पीडा दिने काम गरिरहेका छौँ । जुन कुरालाई हामीले बन्द गर्नु आवश्यक छ । अरुको ब्यक्तिगत जीवनमा हस्तक्षेप गर्ने अधिकार हामी कसैलाई पनि छैन । न त कसैलाई पटक-पटक पीडा दिने र डिस्टर्ब गर्ने हक नै छ ।
“लामो समय सकसपूर्ण जीवन बाँचेर शान्तिसँग बाँच्नका लागि कसैले गरेको निर्णयलाई झ्याउँ-झ्याउँ हुने गरि पटक-पटक देखाउनु, सुनाउनु, पढाउनु मिडियाबाट गरिने मानसिक हिंसा हो । विगतको कुराले, आफैले या परिवारका सदस्यले गरेको गल्तीका कारणले पीडा दिइरहेका बेला मिडियामा त्यही कुरा पटक-पटक आउँदा सम्बन्धित मानिस कुन मानसिकताबाट गुज्रिन्छ होला ? सोच्नु आवश्यक छ ।”
फरक फरक पृष्ठभूमिका मानिस विवाहपछि एकै ठाउँ बस्दा सँगै बस्न नसक्ने समय आउन सक्छ भनेर नै सम्बन्ध बिच्छेदको कानून बनेको हो । फिलिपिन्स बाहेक सबै देशमा यो कानून छ । फिलिपिन्समा पनि सम्बन्ध बिच्छेद नभनेपनि विवाहमा क्रुरता आयो भने अन्य केही कानूनहरूले सँगै नबस्ने छुट दिएको छ । शारीरिक आक्रमण त के कसैले कुनै पनि प्रकारको मानसिक, मनोवैज्ञानिक र आत्मसम्मान माथि चोट पुऱ्याउँछ भने समाजले के भन्ला, आफन्तले के भन्लान् भनेर त्यस्तो मान्छेसँग साथ रहिरहनु आवश्यक छैन । बाबुआमाले, दाजुभाइ, दिदी-बैनी या परिवारले आफ्ना छोरी, दिदी-बैनी कस्तो अवस्थामा छन् खोजी गरिरहनु आवश्यक छ र यदि उनीहरूले अप्ठ्यारो महसूस गरिरहेका छन् भने आफ्नो घर आउ भनेर निर्धक्क उनीहरू घर आउने अवस्था हुनुपर्छ ।
सेलिब्रेटी या सार्वजनिक जीवनमा भएका मानिसहरूको सम्बन्ध विच्छेदलाई हामीकहाँ मिडियाले जथाभावी उछाल्ने गरेको छ । सेलिब्रेटी होस या सार्वजनिक जीवनमा बाँचिरहेका मानिस या ब्यक्तिगत जीवन बाँचिरहेका मानिस सम्बन्ध बिग्रँदा वा टुट्दाको पीडा सबैलाई हुन्छ तर हामीकहाँ सर्वजनिक जीवनमा हुनेहरूलाई त जे गरे पनि हुन्छ, जे बोलेपनि हुन्छ जस्तो गर्ने गरिएको छ । सेलिब्रेटीको पनि ब्यक्तिगत जीवन हुन्छ र उनीहरूको पनि गोपनीयताको हकको सम्मान गर्नु हामी सबैको कर्तब्य हो । कसैको ब्यक्तिगत जीवनलाई पटक-पटक खोतलेर पीडा दिने अधिकार हामी कसैलाई पनि छैन ।
सकेसम्म कसैले पनि जोडिएको सम्बन्ध टुटाउन चाहँदैन, अति भयो भने मात्रै हो सम्बन्ध बिच्छेदसम्म पुग्ने । केही वर्ष अघिसम्म सम्बन्ध बिच्छेद ठुलो सामाजिक लज्जाको विषय थियो जसका कारण धेरै महिलाहरूले सम्बन्ध धान्न नसक्दा आत्महत्या गरे । आत्महत्याको कारण खोजिएन, यदि खोजिएको भए पति-पत्नी र पतिको परिवारसँगको जोखिमपूर्ण सम्बन्ध नै आत्महत्याको कारण हो भन्ने निष्कर्ष हुने थियो भन्न सकिन्छ । त्यसैले सँगै बस्ने परिस्थिति बनेन, सम्बन्ध विषाक्त बन्दै गयो भने अरुले के भन्लान् भनेर ‘टक्सिक रिलेशन’लाई जबर्जस्ती धान्नुभन्दा अलग भएर शान्तिपूर्ण जीवन बाँच्नु सही निर्णय हुन्छ । लामो समय सकसपूर्ण जीवन बाँचेर शान्तिसँग बाँच्नका लागि कसैले गरेको निर्णयलाई झ्याउँ-झ्याउँ हुने गरि पटक-पटक देखाउनु, सुनाउनु, पढाउनु मिडियाबाट गरिने मानसिक हिंसा हो । विगतको कुराले, आफैले या परिवारका सदस्यले गरेको गल्तीका कारणले पीडा दिइरहेका बेला मिडियामा त्यही कुरा पटक-पटक आउँदा सम्बन्धित मानिस कुन मानसिकताबाट गुज्रिन्छ होला ? सोच्नु आवश्यक छ ।
दुःख, सुख जे भएपनि जिन्दगी सँगै बिताउने सपनासहित अघि बढाएको सम्बन्धले दुख दिएपछि मानिसलाई आफैभित्रको संसारमा आफैसँग लड्न कठिन भइरहेको बेला मिडियासँगको लडाइँ उसले कल्पना गर्न सकिरहेको हुँदैन । मानिसलाई प्रायः अरुले दिएको दुखले भन्दा आफूले गरेको गल्तीले दु:ख दिइरहेको हुन्छ । आफूले गरेको गल्ती बिर्सन पनि गाह्रो हुन्छ । प्रेम, सम्बन्ध या विवाह मानिसको सम्पूर्ण जीवन होइन, एउटा सानो पाटो मात्रै हो । त्यो सानो पाटोलाई सम्पूर्ण जिन्दगी झैँ गरी अनेक कोणबाट प्रस्तुत गरिरहनु आवश्यक छैन । सम्बन्धको सवालमा आफू या परिवारले गरेको गल्तीलाई बिर्सनका लागि आँखा चिम्लिएर मानिसले पटक-पटक रिफ्लेक्ट गर्नुपर्ने हुन्छ । बिर्सनका लागि आँखा चिम्लिएर भित्री संसारमा कोशिस गरिरहँदा आँखा खोल्नासाथ मोबाइलमा आफ्नै विगतलाई तमासा बनाइरहेको देख्दा सम्बन्धित ब्यक्ति थप पीडादायी परिस्थितिबाट गुज्रिन्छ । त्यसैले सेलिब्रटी हुन या सार्वजनिक जीवनमा भएका ब्यक्तिहरू या ब्यक्तिगत जीवन बाँचिरहेकाहरू… यदि कसैले चाहन्छ भने उसलाई शान्तिपूर्वक आफ्नो विगत बिर्सन दिउँ न…।
( उहाँ वरिष्ठ पत्रकार एंम लेखिका हुनुहुन्छ र समसमयिक विषयवस्तुमा कलम चलाइरहनु हुन्छ।)
