
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा आगामी तीन दिनसम्म वर्षा नहुने जनाएको छ। महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर परिरहेकाे छ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
आजको मौसम पूर्वानुमान
दिउँसो:
देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा पनि हल्का हिमपात हुन सक्छ।
राति:
पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ।
कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टाको मौसम प्रवृत्ति
महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा तथा कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। यस्तो मौसमका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
काठमाडौं उपत्यकाको तीन-दिनको मौसम अवस्था
मौसमविद् विनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना छैन। आकाश आंशिक बदली हुने भए पनि मौसममा ठूलो परिवर्तन नआउने बताइएको छ।
न्यूनतम तापक्रम: आज बिहान ५:४५ मा ८.६ डिग्री सेल्सियस मापन गरिएको छ।
अधिकतम तापक्रम: दिउँसो २१-२३ डिग्री सेल्सियस को बीचमा रहने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकामा मौसम स्थिर रहने भए पनि उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ। तापक्रम घट्न सक्ने भएकाले स्वास्थ्य सुरक्षामा ध्यान दिन मौसम विभागले अनुरोध गरेको छ।
