
सुर्खेत । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरूमा ५५४९ शिक्षकको दरबन्दी रिक्त रहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारका अनुसार, कर्णालीका २९३१ विद्यालयमा १७,३८४ शिक्षक आवश्यक भए पनि हाल ११,८६५ मात्र कार्यरत छन्।
शिक्षक अभाव सबै तहका विद्यालयमा देखिए पनि विशेष गरी निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहमा समस्या झन् गहिरो बनेको छ। विद्यालयहरूमा आवश्यक शिक्षक संख्याको तुलनामा निमाविमा २६९९, माविमा १७४९, र उच्च माविमा ४५७ शिक्षक अपुग छन्।
विशेष गरी अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरूको अभाव तीव्र रहेको छ। कानुनअनुसार प्राविमा ३, निमाविमा ४, माविमा ५, र उच्च माविमा ४ शिक्षक अनिवार्य हुनुपर्ने व्यवस्था छ। तर, शिक्षक अभावले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न कठिन भएको शिक्षा विज्ञहरू बताउँछन्।
शिक्षक दरबन्दी नहुँदा स्थानीय तह, प्रदेश सरकार र निजी स्रोतबाट अस्थायी शिक्षकको व्यवस्था गरेर विद्यालय सञ्चालन गरिँदै आएको छ। हाल कर्णाली प्रदेशमा ६ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने साक्षरता दर ७६.१ प्रतिशत रहेको छ।
शिक्षक अभावका कारण गुणस्तरीय शिक्षा प्रवाहमा चुनौती थपिएको भन्दै विज्ञहरूले राज्यले शीघ्र कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।
