
- मुगुको मिमी पाटनमा जडीबुटी सङ्कलनका क्रममा हराएका दुई युवाको शव १३ दिनपछि सदरमुकाम गमगढी ल्याइएको छ।
- हुम्लाका स्थानीयको अवरोध र प्रतिकारका क्रममा भएको भागदौडमा परी उनीहरूको मृत्यु भएको थियो।
- विकट भूगोल र बाक्लो हिउँका बाबजुद सुरक्षाकर्मीले अथक प्रयास गरी शवहरू फेला पारेर ल्याउन सफल भएका छन्।
रतन बहादुर रावल मुगु-मुगु र हुम्लाको सीमाक्षेत्रमा पर्ने मिमी पाटन वनमा जडीबुटी सङ्कलन गर्ने क्रममा हिउँ र भौगोलिक विकटताका कारण ज्यान गुमाएका दुई स्थानीय युवाको शव १३ दिनपछि सदरमुकाम गमगढी ल्याइएको छ।

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका-९, पापु र छाइलाका स्थानीय बासिन्दाहरू गत असोज ११ गते कुट्की जडीबुटी सङ्कलनका लागि मिमी पाटन वनतर्फ गएका थिए।

सोही क्रममा हुम्लाका स्थानीय बासिन्दा आएर तर्साएपछि भागाभाग हुँदा पापुका २२ वर्षीय गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो।
भागदौडका क्रममा सोही गाउँका २६ वर्षीय अङ्क रोकाया र ३६ वर्षीय ललितजङ बडुवाल सम्पर्कविहीन भएका थिए। घट्नालगत्तै पीडामा रहेका मृतकका आफन्त र स्थानीयको उद्धार तथा बेपत्ताहरूको खोजीका लागि असोज १६ गते सुरक्षाकर्मी र स्थानीय युवाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो।
त्यस्तै, असोज १९ गते जिल्ला सदरमुकाम गमगढीबाट नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरीको संयुक्त टोली थप उद्धारका लागि घटनास्थल गएको थियो। तीन दिनको अत्यन्तै कठिन यात्रापछि चिसो हिउँको पहरामा पुगेको टोलीले बेपत्तामध्येका अङ्क रोकायाको शव फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलियाका अनुसार घटनास्थल अत्यन्तै विकट रहेको र त्यहाँ चारदेखि पाँच फिटसम्म बाक्लो हिउँ जमेका कारण सुरुमा शव सदरमुकाम ल्याउन ठूलो चुनौती खडा भएको थियो।
कठिन परिस्थितिका बाबजुद सुरक्षा निकायहरूको अथक प्रयासपछि अन्ततः दुवै शवलाई आज सदरमुकाम गमगढी ल्याउन सफल भइएको छ।
यस घटनामा सहभागी कुल १३ जनामध्ये बाँकी १० जना भने सकुशल सम्पर्कमा आइसकेका छन्। विकट भूगोल र बाक्लो हिउँको प्रवाह नगरी १२-१३ दिनदेखि पीडामा रहेका नागरिकहरूको उद्धार र शव सङ्कलनमा खटिएका तिनै तहका सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) लाई सिङ्गो मुगाली जनताले धन्यवाद दिएका छन्।
आफ्नो ज्यानको बाजी राखेर मृत्यु भएका सबको उद्धार गरेर ल्याउनुभएकोमा नेताका सुरक्षा निकायलाई स्थानीयवासीले धन्यवाद समेत दिएका छन्।
