
काठमाडौं- देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहँदा बाँकी अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहेको छ।
तराईमा बाक्लो हुस्सु र कुहिरो
मधेस प्रदेशको पश्चिमी तराई र लुम्बिनी प्रदेशको पूर्वी तराईका विभिन्न स्थानमा बिहानदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। यसले यातायात र हवाई उडानमा प्रभाव पारेको छ भने स्थानीय जनजीवन र कृषि कार्यमा समेत अवरोध सिर्जना गरेको छ।
दिउँसो र रातिको पूर्वानुमान
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरूमा आंशिक बदली हुने सम्भावना रहेको छ। राति पनि यी प्रदेशहरूका केही स्थानमा बदली कायम रहने देखिएको छ।
यस्तै, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सतर्कता अपनाउन अनुरोध
तराई तथा उपत्यकाका विभिन्न स्थानमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले यातायात, कृषि, स्वास्थ्य, र हवाई उडानमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसले जनजीवनमा थप प्रभाव पार्न सक्ने भएकाले मौसम पूर्वानुमानलाई ध्यानमा राखी सुरक्षित रूपमा दैनिक कार्यहरू सञ्चालन गर्न विज्ञहरूले सुझाव दिएका छन्।
