
- मुगुको सोरु गाउँपालिकामा खडेरी र जलवायु परिवर्तनले पानीका मुहान सुक्दा खानेपानीको चरम संकट छ।
- स्थानीय महिला तथा बालबालिका घण्टौँ हिँडेर खोलाको धमिलो पानी ल्याउन बाध्य भएका छन्।
- खेतीपाती र पशुपालनमा समेत असर परेकाले स्थानीयले लिफ्टिङ प्रविधिसहितको दिगो खानेपानी योजना माग गरेका छन्।
रतन रावल, मुगु।
लामो समयदेखि पानी नपर्दा र जलवायु परिवर्तनको असर देखिन थालेपछि मुगुको विकट सोरु गाउँपालिकामा खानेपानीको चरम संकट चुलिएको छ। वर्षा नहुँदा स्थानीय प्राकृतिक पानीका मुहानहरू तीव्र रूपमा सुक्न थालेका छन्, जसका कारण स्थानीय बासिन्दाहरू काकाकुल बन्नु परेको छ।भौगोलिक रूपमा विकट यस गाउँपालिकाका विभिन्न बस्तीहरूमा खानेपानीका पुराना स्रोतहरू पूर्ण रूपमा सुकेका छन्। पानी लिनका लागि स्थानीय नागरिक, विशेष गरी महिला र बालबालिकाहरू, घण्टौँ टाढा रहेका नदी तथा खोला किनारमा धाउन बाध्य छन्।

स्थानीय बासिन्दाका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्ष हिउँद र वर्षा दुवै समयमा रैथाने प्रकृतिका पानीका मुहानहरूमा पानीको मात्रा निकै घटेको छ। “पहिले गाउँकै धारोमा पानी आउँथ्यो, अहिले मुहान नै सुक्यो,” एक स्थानीयले दुःख व्यक्त गरे, “एक गाग्री पानीका लागि रातभरी पालो पर्खिनुपर्ने वा घण्टौँ हिँडेर कर्णाली नदीको किनार पुग्नुपर्ने अवस्था छ।”
सोरु गाउँपालिकाका अधिकांश वडाहरूमा यो समस्या देखिएको छ। खडेरीका कारण खानेपानीको मात्र नभई सरसफाइ र सिँचाइमा समेत ठूलो असर परेको छ। पानीको अभावले गर्दा खेतीपाती सुक्न थालेको छ भने पशुचौपायालाई समेत पिउने पानी जुटाउन मुस्किल परेको छ।बदलिँदो मौसम र तापक्रम वृद्धिका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रका पानीका स्रोतहरू संकटमा पर्दै गएका छन्। सोरुका स्थानीय बासिन्दाहरूले यो संकटबाट मुक्ति पाउनका लागि गाउँपालिका र सरोकारवाला निकायसँग दीर्घकालीन खानेपानी योजना र लिफ्टिङ प्रविधिको माग गरेका छन्। समयमै उचित कदम नचाले यस विकट क्षेत्रमा पानीकै अभावका कारण विस्थापनको जोखिम समेत बढ्न सक्ने देखिएको छ।
