
- इन्डोनेसियाको कारखानामा भएको भीषण आगलागीमा परी २४ जनाको मृत्यु भएको छ।
- बेपत्ता रहेका ३४ जनाको खोजी गर्न पाँच सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ।
- आगलागीको घटनाले औद्योगिक कार्यस्थलको सुरक्षा मापदण्डमाथि गम्भीर प्रश्न उठाएको छ।
इन्डोनेसियाको जकार्तानजिकै रहेको क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि बेपत्ता ३४ श्रमिकको खोजीमा सोमबार ५०० भन्दा बढी उद्धारकर्मी परिचालन भएका छन्। आगलागीमा २४ जनाको शव वा मानव अवशेष सङ्कलन गरिएको छ भने २९ जनाको उद्धार गरिएको छ।

बान्टेन प्रान्तस्थित पिटी फोनुसा अगुङ मुलिया कारखानामा शनिबार आगलागी भएको थियो। तीनतले भवनमा फैलिएको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकलाई करिब १४ घण्टा लागेको थियो। चिस्याउने उपकरणबाट सुरु भएको आगो मुख्यतः दोस्रो तलामा फैलिएको अधिकारीहरूले बताएका छन्।

आगलागी हुँदा कारखानामा करिब ३०० श्रमिक कार्यरत थिए। तीमध्ये ६३ जना सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको अनुमान गरिएको छ। उद्धार गरिएका २९ जनामध्ये पाँच जनालाई अस्पताल भर्ना गरिएको छ।
राष्ट्रिय खोज तथा उद्धार निकाय बसरनासले मृतकको यकिन सङ्ख्या सार्वजनिक गरेको छैन। सङ्कलित मानव अवशेषको पहिचानका लागि फरेन्सिक परीक्षण गरिने जनाएको छ। सैनिक, प्रहरी, रेडक्रसका कर्मचारी र स्वयंसेवकसहितको उद्धार टोलीले करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा खोजी गरिरहेको छ। बेपत्ता श्रमिकका आफन्त घटनास्थलमा उद्धारको खबर पर्खिरहेका छन्।
उक्त कारखानामा इन्डोनेसियाको दूधमा आधारित क्यान्डी तथा खाजा उत्पादन गर्ने मिल्किटा ब्रान्डका सामग्री बनाइन्छन्। ती उत्पादन ४० भन्दा बढी देशमा निर्यात हुँदै आएका छन्।
इन्डोनेसियामा पछिल्ला वर्षमा भएका औद्योगिक आगलागीका घटनाले कार्यस्थलको सुरक्षा मापदण्ड र उद्योगमा आपत्कालीन तयारीको अवस्थाबारे चिन्ता बढाएको छ।
