यी हुन् आज दिनभरका समाचार

समाचार सारांश
Auto Generated by AI
  • देशभर बाढी, पहिरो र दुर्घटनाका कारण जनधनको ठूलो क्षति हुनुका साथै हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।
  • चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् भने गुल्मीमा सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
  • काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सयौं चालक कारबाहीमा परेका छन् भने भारत र वेस्ट इन्डिजबीच आज दोस्रो एकदिवसीय खेल हुँदैछ।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार 

Workplace

१.चितवनको भरतपुर महानगरपालिका-२५, फलेनीमा जंगली गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।आज बिहान करिब ५ बजे फलेनीका ४२ वर्षीय भक्तबहादुर घले मर्निङवाकमा हिँडिरहेका बेला एक्कासी जंगली गैंडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको  चितवन प्रहरीले जानकारी दिएको छ।आक्रमणपछि गैंडाले आसपासका खेतबारीमा लगाइएको बालीसमेत नष्ट गरेको स्थानीय हेमराज शर्माले बताए। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। अहिले घटना स्थल तर्फ चितवन राष्ट्रिय निकुन्जको टोलि खटिएको निकुन्जका सुचना अविनास थापामगरले जानकारी दिए।

- Advertisement -Workplace

२. गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ।सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन।मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन्।

सडक भासिएपछि रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन्।स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताउँदै वर्षा हुँदा कतै घर पनि बगाएर लैजाने हो कि भन्ने त्रास कायमै रहेको बताए।सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो।निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडक भासिएको हो।सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवले उक्त सडकमा तत्काल यातायात सञ्चालन सहज बनाउनका लागि एकदुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको बताए।

३. भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज गुवाहाटीमा हुँदैछ। पहिलो खेल जितेको भारत सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहँदा वेस्ट इन्डिज सिरिजमा फर्कने प्रयासमा हुनेछ।तिरुवनन्तपुरममा भएको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई पराजित गरेको थियो। अब गुवाहाटीमा हुने दोस्रो खेलमा भारतका लागि जितसँगै २०२७ को एकदिवसीय विश्वकपका लागि उत्कृष्ट टोली संयोजनको खोजीलाई निरन्तरता दिने अवसर हुनेछ।भारतले पहिलो खेलमा तीन अलराउन्डर र तीन विशेषज्ञ बलरको संयोजन अपनाएको थियो। नितिश कुमार रेड्डी, रविन्द्र जडेजा र नमन धीरलाई अलराउन्डरका रूपमा प्रयोग गरिएको थियो। गुवाहाटीमा पनि भारत यही संयोजनलाई निरन्तरता दिने सम्भावना छ।नितिशले पहिलो खेलमा सुरुआतमा महँगो बलिङ गरे पनि त्यसपछि आफ्नो प्रदर्शन सुधार गरेका थिए। उनले अन्तिम ओभरमा सात रन मात्र दिएर एक विकेटसमेत लिएका थिए। हार्दिक पाण्ड्याको फिटनेससँग सम्बन्धित प्रश्नहरूबीच नितिश भारतका लागि महत्वपूर्ण खेलाडीका रूपमा हेरिएका छन्।रविन्द्र जडेजाका लागि पनि यो खेल महत्वपूर्ण हुनेछ। अक्षर पटेल एसियाली खेलकुदमा रहेका कारण जडेजाले विश्वकप टोलीमा आफ्नो दाबेदारी बलियो बनाउने अवसर पाएका छन्। यस्तै, कुलदीप यादव २०० एकदिवसीय विकेट पूरा गर्नबाट केवल दुई विकेट टाढा छन्।

वेस्ट इन्डिजका लागि भने दोस्रो खेलमा टोलीको बलिङ सुधार मुख्य चुनौती हुनेछ। पहिलो खेलमा ब्याटिङतर्फ जस्टिन ग्रिभ्स र जोन क्याम्पबेलले राम्रो सुरुआत दिलाएका थिए। तर ग्रिभ्स चोटका कारण दोस्रो खेलबाट बाहिरिएका छन्। उनको स्थानमा ज्वेल एन्ड्र्युले ब्याटिङ क्रम माथि पाउने सम्भावना छ।

४. सिन्धुलीमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।प्रहरीका अनुसार बुधबार बिहान साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा।प्र।०१–०३१ च ९७४९ नम्बरको जिप सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको हो।दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का रोमबहादुर योञ्जन, मिना माया तामाङ, दुर्गाबहादुर योञ्जन, धनबहादुर योञ्जन, प्रेम योञ्जन, दिनेश योञ्जन, अनिल योञ्जन र टेकबहादुर थिङ घाइते भएका छन्।

घाइते आठै जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।जिप चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५. असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण बागलुङको निसीखोला र तमानखोला बढी प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले जिल्लामा ६१ घर र गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ ।बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीनवटा झोलुंगे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ । २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ ।निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ ।तमानखोला–३, धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।

६. नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङको ७२ वर्षको उमेरमा निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मङ्गलबार निधन भएको हो।कास्कीको पर्यटकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीनबहादुर गुरुङका छोरा प्रकाशबहादुर राजनीतिमा आउनुअघि प्राध्यापन पेसामा आबद्ध थिए। उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा करिब साढे १५ वर्ष प्राध्यापन गरेका थिए। सरकारी सेवाको पेन्सन अवधि निस्कन थोरै समय मात्र बाँकी रहँदा प्राध्यापन छाडेर उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए।२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गुरुङले नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए। त्यसपछि उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहायक मन्त्री बनेका थिए।कास्की कांग्रेसका अनुसार दिवङ्गत गुरुङको पार्थिव शरीरलाई बुधबार बिहान १०:३० बजे चिप्लेढुङ्गास्थित जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पोखराको रामघाटस्थित बौद्ध अर्घौं सदनमा उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

७. मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप तीन जनाको शव फेला परेको छ।

योसँगै उक्त हिमपहिरोमा ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको छ।नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अनुसार बुधबार खोजी तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको हो।घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आईएफएमजीए) पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जनाभन्दा बढी अनुभवी क्लाइम्बिङ गाइडहरूको विशेष टोली उद्धारमा खटिएको छ। सोही टोलीले हिउँ पन्छाएर तीनै जनाको शव निकालेको हो।

यसअघि आइतबार र सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।गत असोज ११ गते बिहान नार्फाभूमि गाउँपालिका-५ स्थित करिब पाँच हजार दुई सय मिटर उचाइमा हिम्लुङ हिमाल आरोहणका क्रममा हिमपहिरो गएको थियो।

८. प्रहरीले लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्‍ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ रजेना बस्ने २५ वर्षीय करण राज अधिकारी र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मिन बहादुर रोकाय रहेका छन्। प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।यसैगरी काठमाडौं महानगरपालिका-९ रातोपुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र काठमाडौं मैतीदेवी बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका  २२ वर्षीय अजय रेग्मी मगर रहेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५४ प ९३४९ नम्बरको स्कुटर समेत बरामद गरेको छ।  

९. पश्चिमी अस्ट्रेलियामा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

पश्चिमी अस्ट्रेलिया प्रहरीले बुधबार बिहान करिब १२ बजेर ५० मिनेटमा जेराल्डटन सहरनजिकै गोली चलेको सूचना पाएपछि आपत्कालीन टोली घटनास्थल पुगेको जनाएको छ। जेराल्डटन पर्थ सहरबाट करिब ३७० किलोमिटर उत्तरमा पर्छ।घटनास्थलमा प्रहरीले ३२ वर्षीय एक पुरुषलाई गोली लागेको अवस्थामा फेला पारेको थियो। उनलाई गम्भीर तर ज्यानलाई खतरा नरहेको चोटसहित उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले स्थानीय बासिन्दाको सुरक्षाका लागि सूचना जारी गर्दै आसपासको क्षेत्रमा खोजी अभियान सुरु गरेको थियो।प्रहरीका अनुसार विशेष सुरक्षा टोलीसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। बुधबार बिहान करिब १०ः३० बजे जेराल्डटनको पूर्वी क्षेत्रमा पाँच जनालाई पक्राउ गरिएको हो।प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

१०. काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारी चालकलाई कारबाही गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो।कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६०, सिसीटिभीबाट पहिचान भएका ५३, सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ र तीव्रगतिमा सवारी चलाउने ९३ जना छन्।त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन उल्लङ्घन गर्ने पाँच, सवारी साधनको अवस्था ठिक नभएका १२ र एकतर्फी सडक अनुशासन पालना नगर्ने पाँच जनालाई कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ।अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहितको कारबाही गरिएको छ।ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ।सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?