
- प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित २३ जनालाई नियन्त्रणमा लिएको छ।
- काठमाडौंको कलंकीबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
- रातोपुलबाट ट्रामाडोल र स्कुटरसहित थप दुई जना पक्राउ परेका छन्।
काठमाडौं।प्रहरीले लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जनालाई नियन्त्रणमा लिएको छ।


काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ रजेना बस्ने २५ वर्षीय करण राज अधिकारी र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मिन बहादुर रोकाय रहेका छन्। प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-९ रातोपुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र काठमाडौं मैतीदेवी बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका २२ वर्षीय अजय रेग्मी मगर रहेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५४ प ९३४९ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
